२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

खुल्यो बञ्चरेडाँडाको अवरोध, १५ दिनभित्र पूर्वसहमति कार्यान्वयन गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

Nada
२०८२ कार्तिक १६ गते १२:३२
Shares
खुल्यो बञ्चरेडाँडाको अवरोध, १५ दिनभित्र पूर्वसहमति कार्यान्वयन गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौं : सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीयसँग १५ दिनभित्र माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि चार दिनदेखि रोकिएको फोहोर व्यवस्थापन सुचारु भएको छ । आइतबार बिहान मन्त्री घिसिङ नेतृत्वको टोली साइट पुगेपछि स्थानीयले अवरोध हटाएका हुन् ।

ncell

ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले भने, “मन्त्रीज्यूले १५ दिनभित्र माग पूरा नभए फेरि रोक्नुस्, तर अहिले नरोक्नुस् भन्नुभयो। त्यसैले रोकिएका गाडीहरू साइटमा पुग्न थालिसकेका छन् ।”

मन्त्री घिसिङसँगै काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वातावरण विभाग प्रमुख सरिता राईलगायतको टोली स्थानीय जनप्रतिनिधि र बासिन्दासँग छलफलमा सहभागी भएको थियो । ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङका अनुसार, यसअघिका सबै सहमति कार्यान्वयन गर्ने समयसीमा तोकिएको छ ।

२०७९ जेठ २६ मा भएको १८ बुँदे सम्झौता कार्यान्वयनमा संघीय सरकार र काठमाडौं महानगरपालिकाले उदासीनता देखाएको भन्दै स्थानीयले शुक्रबारदेखि फोहोर फाल्न रोकेका थिए । शुक्रबार मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि अवरोध झनै कडा बनेको थियो ।

काठमाडौं उपत्यकाका विभिन्न पालिकाबाट दैनिक १५० भन्दा बढी गाडी फोहोर बञ्चरेडाँडा पुग्ने गर्छ । यसबाट नुवाकोटको ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका र धादिङको धुनिबेंसी नगरपालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित छन् ।

अब १५ दिनको समयसीमाभित्र माग पूरा नभए फेरि अवरोध हुने चेतावनी स्थानीयले दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर