२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

एनसिसी कतारको आयोजनामा स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८२ कार्तिक ९ गते १४:२७
Shares
एनसिसी कतारको आयोजनामा स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसी) कतारले स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । दोहाको सी रिङ रोडमा अवस्थित नसिम मेडिकल सेन्टरसँगको सहकार्यमा शुक्रबार ५३ जना नेपाली महिलाहरूको उपस्थितिमा स्तन (ब्रेस्ट) क्यान्सरको समयमै पहिचान, रोकथाम तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे सचेत गराउँदै कार्यक्रम सम्पन्न गरेको हो ।

ncell

एनसिसी कतारकी महिला उपाध्यक्ष टौमाया गुरुङको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा अस्पतालका तर्फबाट डा. नुरुलिसा पलाथुरले स्तनको क्यान्सर र रोकथामका उपायका बारेमा जानकारी दिँदै प्रारम्भिक लक्षण पहिचान, स्क्रिनिङको आवश्यकता तथा समयमै उपचार गराउँदा हुने फाइदाबारे महत्त्वपूर्ण जानकारी गराएकी थिइन् । कार्यक्रममा एनसिसी कतारका तर्फबाट अध्यक्ष कृष्ण पन्थी र नसिम मेडिकल सेन्टरका तर्फबाट कर्पोरेट रिलेसन सीप तथा मार्केटिङ एसिस्टेन्ट म्यानेजर आस्रफ पी बिच एउटा ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर समेत भएको  छ ।

उक्त समझदारी पत्रमा विशेषज्ञ सेवामा ३०, सिटी स्क्यान,एमआरआईमा १५, प्याथोलोजी जाँच एक्स-रे, अल्ट्रासाउन्डमा ३०, डेनटल, डर्माटोलोजीमा १५ र कस्मेटिक टेन्टल,कस्मेटिक डर्माटोलोजी लगायतका सेवामा १० प्रतिशत छुट हुने र सेवा लिन एनसिसिको परिषद् सदस्यता कार्ड अनिवार्य हुनुपर्ने सहमति भएको एनसिसी कतारले जनाएको छ । यो नै एनसिसी कतार र कतारमा रहेको कुनै पनि निजी स्वास्थ्य संस्थासँग भएको पहिलो समझदारी पत्र हो । यसलाई नेपाली समुदायको हितमा भएको एक महत्त्वपूर्ण कोशेढुंगाका रूपमा लिइएको छ ।

कार्यक्रममा मानसिक स्वास्थ्य तथा पारिवारिक सम्बन्ध सुदृढीकरण विषयमा फेमिली वोन्ड कतारकी फाउन्डर आलिया मसोदीले भावनात्मक समन्वय, तनाव व्यवस्थापन तथा पारिवारिक समझदारीको महत्त्वबारे प्रकाश पारेकी थिइन । अध्यक्ष पन्थीले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गरे ।  कार्यक्रममा सहभागीहरूको सक्रियता र उत्साह अभिवृद्धि गर्न ६ वटा प्रश्नोत्तर कार्यक्रम पनि राखिएको थियो । जसमा छिटो र छरितो रूपमा सही उत्तर दिनेलाई विशेष उपहार वितरण गरिएको थियो भने उत्कृष्ट कार्यक्रम सहजीकरण र प्रेरणादायी प्रस्तुति प्रस्तुत गरेको भन्दै कार्यक्रम सञ्चालिका यास्मिन नाज प्रति सम्मान व्यक्त गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर