२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञहरूबीच नेपालमा चार दिनसम्म छलफल

Nada
२०८२ असोज २५ गते २०:२४
Shares
इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञहरूबीच नेपालमा चार दिनसम्म छलफल

काठमाडौं : इन्टरनेट र कृत्रिम बुद्धिमत्ता (एआई) का विविध पक्षबारे २० देशका विज्ञहरूले नेपालमा चार दिनसम्म गहन छलफल गरेका छन् । 

ncell

इन्टरनेटको क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सद्वारा आयोजित ‘एपीसिग २०२५’ नामक सम्मेलन यही असोज २१ देखि २४ गतेसम्म सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए । 

सम्मेलनमा १६ चरणका छलफल सत्रहरू सञ्चालन भएका थिए भने २२ विज्ञ वक्ताहरूले विषयगत प्रस्तुति दिएका थिए । उपाध्यक्ष वाकास हसनका अनुसार, कार्यक्रममा १६ देशका सरकारी अधिकारी, सूचना प्रविधि विज्ञ, प्राध्यापक, पत्रकार, वकिल, अधिकारकर्मी, अनुसन्धानकर्ता लगायतका ३४ फेलोहरू सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी विषय विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, अभ्यासकर्ता र पैरवीकर्ताहरूले इन्टरनेटको सही र जिम्मेवार प्रयोग, यसको नियमन तथा व्यवस्थापन, एआईको प्रयोगले भविष्यमा ल्याउन सक्ने अवसर र चुनौती, साइबर सुरक्षा, तथ्यांक सुरक्षा, सामाजिक सञ्जालहरूको प्रयोग र नियमन, भ्रामक तथा प्रायोजित सूचनाको विकृति, र इन्टरनेट पहुँचबाट पछाडि पारिएका समुदायको समावेशीकरण जस्ता विषयमा गहन प्रस्तुति दिएका थिए । सहभागीहरूबीच यी विषयमा व्यापक छलफल भएको पत्रकार जीवन भण्डारीले जानकारी दिए । 

पाकिस्तानकी सहभागी मार्यम रसिदले अन्य देशमा भइरहेका अभ्यास र अनुभवका आधारमा निकै सिकाइ भएको बताइन् । उनका अनुसार, यस्तो अन्तर्राष्ट्रिय कार्यक्रमले विभिन्न देशका विशेषज्ञहरूलाई आपसी ज्ञान आदानप्रदान र सहकार्यका अवसर प्रदान गर्छ । 

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, म्यानमार, मलेसिया, भुटान, यमन, मंगोलिया, पाकिस्तान, कम्बोडिया, इन्डोनेसिया, काजकिस्तान, सिंगापुर, फिलिपिन्स, भियतनाम, अस्ट्रेलिया र जापानलगायत २० भन्दा बढी देशका फेलो तथा वक्ताहरू सहभागी भएको इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटकी निर्देशक सपना शाहीले जानकारी दिइन् । 

चार दिनसम्म चलेको उक्त अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सका अध्यक्ष अर्यालले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित खबर