२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

रौतहटमा सक्रिय हुँदै दलहरू

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ३१ गते १८:३५
रौतहटमा सक्रिय हुँदै दलहरू

रौतहट : गत भदौ २४ गतेको आन्दोलनपछि निष्क्रियजस्तै बनेका रौतहटका राजनीतिक दलहरूले आफ्ना गतिविधिलाई तीव्रता दिन थालेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरूले विभिन्न राजनीतिक कार्यक्रमहरू मार्फत सक्रियता बढाएका हुन् ।

नेकपा एमाले रौतहटले संविधान दिवसको अवसरमा असोज ३ गते पार्टी कार्यालयमा वृक्षारोपण र संविधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

मंगलबार गौरस्थित पार्टी कार्यालयमा बसेको बैठकले यो निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्य अजय गुप्ताले बताएअनुसार, आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट प्रभावित पार्टी कार्यालयको सरसफाइ र झण्डा राख्ने काम पनि सम्पन्न भएको छ । युवा संघका नेता ओम प्रकाश साहले यो जानकारी दिएका हुन् ।

यसैगरी, नेपाली कांग्रेसले पनि आफ्ना गतिविधिहरूलाई तीव्र बनाएको छ । आन्दोलनपछि संविधान रक्षाको नारा लिएर सडकमा उत्रिएका कांग्रेस नेताहरूले मंगलबार चन्द्रनिगाहपुर क्षेत्रमा आगजनीबाट क्षतिग्रस्त सरकारी कार्यालयहरूको स्थलगत अवलोकन गरे ।

पूर्वसांसद देव तिमिल्सिना, चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्ले, क्षेत्रीय सभापति राम स्नेही यादवसहितका नेताहरूले चन्द्रनिगाहपुरस्थित चन्द्रपुर नगरपालिका कार्यालय, सडक डिभिजन, इलाका प्रहरी कार्यालय लगायतका क्षतिग्रस्त कार्यालयहरूको निरीक्षण गरेका हुन् ।

आन्दोलनको मुख्य दिन भदौ २४ गते चन्द्रनिगाहपुरका अधिकांश सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड भएको थियो । नेताहरूले यी कार्यालयहरूको पुनर्निर्माण र सेवा सुचारु गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise