२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

प्रधानमन्त्री कार्कीलाई खुला पत्र

shivam cement
२०८२ भदौ ३० गते ०६:००
प्रधानमन्त्री कार्कीलाई खुला पत्र

सम्माननीय प्रधानमन्त्री ज्यू,
नमस्कार !

बधाई छ तपाईलाई, देशको यो विषम परिस्थितिमा अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने मौका पाउनुभएकोमा । साथै, बधाई र सम्मान छ सच्चा माग राख्दै आन्दोलनमा होमिएका जेनजी भाइबहिनीहरूलाई । अनि धिक्कार छ, यसैको फाइदा उठाएर लुटपाट र विध्वंसको खडेरी निम्त्याउने ती स्वार्थी सत्तालिप्सेहरूलाई, जसलाई नेपाल आमाले कहिल्यै भलो नगरून् ।

हामी झन्डै दुई दशकदेखि संवैधानिक गणतान्त्रिक व्यवस्थाको अभ्यासमा छौं । जनताले सोचेका थिए, देशमा प्रजातन्त्र र गणतन्त्र आएपछि अब सर्वसाधारण जनताका दैनिक गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर राज्यले बन्दोबस्त गर्नेछ । अझ अस्पतालको बेडमा गम्भीर रोग लिएर जीवनसँग लडिरहेका ती आमसर्वसाधारण बिरामीलाई धनको अभावमा मर्न बाध्य पार्ने छैन । स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नेछ । तर प्रजातन्त्र आएको पनि यतिका वर्ष बितिसक्दासमेत केही विकास भए पनि विकासका नाममा दलबदलमा पोख्त दलका कार्यकर्ता र केही दलाल पुँजीपतिहरूको हालीमुहाली भएकाले देशले मुहार फेर्न सकेन । 

केपी शर्मा ओली नेतृत्वको सरकारले गत भदौ १९ गते नेपाल सरकारसमक्ष आधिकारिक रूपमा कम्पनी दर्ता नभएको भन्दै फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्‍यो । र त्यही मौकामा सञ्जाल बन्द गर्न नपाइने, भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गर्ने नारासहित जेनजीहरूको आन्दोलन सुरु भयो । उनीहरूको आन्दोलनले विशेषगरी भदौ २३ मा उग्र रूप लियो । उनीहरूले आन्दोलन गर्नुभन्दा अगाडि भनेका थिए, ‘हाम्रो आन्दोलन भद्र हुन्छ, तारको वार जाली भत्काउँदैनौं, हत्या हिंसा गर्दैनौं’ तर परिस्थिति उल्टो भइदियो र उनीहरूको शान्तिपूर्ण आन्दोलनमा केही पूर्वयोजनाकारको घुसपैठ भयो र आन्दोलनले हिंसात्मक रूप लियो । स्कुल पढ्दै गरेका कलिला बालबालिका तथा सुरक्षाकर्मीहरूले सहादत प्राप्त गरे । तर त्यसको फाइदा अन्य पक्षले लिए । आन्दोलनमा नेताका घरघरमा जाने, घर जलाउने, पैसा र गरगहना लिने, भाटभटेनी सुपरमार्केटलगायत अन्य पसल र घरहरूमा लुटपाट मच्चाइयो । 

सिंहदरबार मात्रै होइन, सर्वोच्च अदालत संसद् भवन, राष्ट्रपति कार्यालय, सयौं सरकारी कार्यालय जलेर नष्ट भएका छन् । सयौं हत्यारा र बलात्कारी भागेका छन् । अख्तियार जलाएर भ्रष्टाचारको प्रमाण जलाइयो र अन्ततः अपराधीहरूलाई नै हौसला बढ्यो । यसमा नेतृत्वविहीन आन्दोलन गर्नु पनि गलत थियो र सोसल इन्फ्लुएन्सरहरूको केही बहकाउने कामले पनि आन्दोलनमा धक्का पुग्यो । आज प्रशासन जलेर आमनेपाली नागरिकको पहिचान जलेको छ । अदालतमा आगो लगाएर न्याय जलेको छ । कयौं रोजगारी दिलाएका व्यापारिक कम्प्लेक्स जलेर खरानी भए । आज सिंहदरबार जल्यो र राणाकालदेखि पञ्चायत, बहुदल, गणतन्त्रसँगै सयौं वर्षदेखिको इतिहास जलेको छ । 

प्रधानमन्त्रीज्यू, तपाईंका सामु चुनौतीका चाङ उभिएका छन् । हाम्रो देश भूराजनीतिक चपेटामा फँसेको छ । देशको राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिले देश कसरी गाँजिएको छ भन्ने कुरा चिया चौतारी, कोठे बैठक र चोकचोकमा गुड्डीका गफ हाँक्ने र सामाजिक सञ्जालमा स्ट्याटस लेखेर मात्र पनि नहुँदो रहेछ भन्ने कुरा थाहा भइसकेको छ । आज जेनजीको आन्दोलन सही थियो तर प्रतिक्रियावादीले व्यक्तिगत या राजनीतिक प्रतिशोधको फाइदा उठाउँदै आन्दोलनका नाममा धमिलो पानीमा माछा मार्ने काम गरे । केही राजनीतिक दलका कार्यकर्ताहरूको पहिचान पनि भएको हो ।

अबका दिनमा, ठुला दलहरूले सोच्नुपर्छ, आगामी केही महिनामा नै निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ र सो निर्वाचनका लागि दललाई परिष्कृत ढंगले अगाडि बढाउने हो भने, सबै दलका शीर्ष नेतृत्वहरूले राजनीतिबाट विश्राम लिनुपर्ने र तेस्रो तहका नेतालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेछ । यस्तो नेतृत्व हस्तान्तरणले समाज रूपान्तरणको बाटो देखाउनेछ ।

प्रधानमन्त्रीज्यू, तपाईंको काँधमा सारा यी पुनरुत्थानका जिम्मेवारी आइपरेका छन् । त्यसैले, आज निर्विकल्प र स्वविवेकले यो र ऊ अनि आफ्ना र अर्को नभनी सक्षम व्यक्तिहरूलाई मन्त्रीमण्डलमा राखि देशको शासन सत्ताको बागडोर सम्हाल्नु हुनेछ भन्ने आशा आमजनताले गरेका छन् । अन्तमा, जे भयो, भयो, अब अतीतको खराब कामलाई सबैले बिर्सेर, बिनास्वार्थमा सबै राजनीतिक दल, जनता, बुद्धिजीवी र विभिन्न तहका व्यक्तिसँग मिलेर देशलाई परायाको चंगुलबाट जोगाउनुपर्छ ।

देशको अस्तित्व रहेमा नै पराइको अधीनमा नरहेको नेपाल अनि सन् १९४५ मा जापान युद्धमा आर्थिक सहयोग गरेको नेपाल अहिले विदेशीको भूराजनीतिक गन्धका कारण आपसमा लड्दै छ । तसर्थ, प्रधानमन्त्रीज्यूले समग्र राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर राख्दै सुधारका लागि काम गर्नुपर्नेछ ।

– खिमराज गिरी

ADV

सम्बन्धित खबर

Advertise