२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

गुमेको ज्योति फर्किएपछि खुसी छन् रामेछापवासी

Nada
२०८२ भदौ १५ गते ०७:४०
Shares
गुमेको ज्योति फर्किएपछि खुसी छन् रामेछापवासी

रामेछाप : ज्योति गुमेका एक सयभन्दा बढीलाई नि:शुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् ।

ncell

मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा शुक्रबार र शनिवार दुई दिन सम्पन्न नि:शुल्क आँखा शिविरमा एक सय १३ जनाको मोतियाविन्दुको शल्यक्रिया मार्फत यहाँका आँखाका रोगी गुमेको ज्योति फर्काएको थियो । गाउँमै नि:शुल्क शिविर सञ्चालन भएपछि समय र पैसाको खर्च गरेर धेरै टाढासम्म जानुपर्ने बाध्यता हटेको, आफ्नो गुमेको ज्योति फर्किएको भन्दै रामेछाप नगरपालिका–८ का केदारनाथ घिमिरेले खुसी व्यक्त गरे।

घिमिरे मात्र होइन, अर्की सेवाग्राही सोनमाया घिसिङ पनि आफ्नो गुमेको ज्योति फिर्ता हुने र दुवै आँखा राम्रोसँग देखिने भएपछि असाध्यै खुसी हुँदै उनले भने, “जिल्ला सदरमुकाममा आएको आँखा शिविरमा आफूले आँखाको शल्यक्रिया गर्न पाएँ, लामो समयदेखि धमिलो हुने आँखा नदेख्ने समस्या यस शिविरले समाधान गरिदिएपछि आफूहरूलाई निकै सहज भएको छ ।

त्यसैगरी रामेछाप नगरपालिका ओख्रेनीका पूर्ण तामाङ र खाँडादेवी गाउँपालिकास्थित पिङ्खुरीकी मैया तामाङ पनि यो शिविरले आफूहरूलाई निकै सजिलो बनाएको बताउँछिन् । 

जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, खाँडादेवी गाउँपालिका माकादुम र सामुदायिक विकास समाज मन्थलीको आयोजना तथा सहकार्यमा वरिष्ठ नेत्र रोग विशेषज्ञ सुष्मा दुवालका नेतृत्वमा रहेको ११ जनाको टोलीले शनिबार शिविर सम्पन्न गरेको केन्द्रका प्रमुख उमेश तामाङले बताए। 

शिविरमा एक सय ११ जनाको मोतिया विन्दु र तीन जनाको ‘माइनर अप्रेशन’ सहित एक सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका आँखा स्वास्थ्य कार्यकर्ता पुष्कल घिमिरेले बताए। सरकारी अस्पतालमा स्वास्थ्य सेवा नि:शुल्क भनिए पनि गुणस्तरीय उपचार र औषधि वितरण व्यवहारमा लागू भएको पाइन्न ।

निजी तथा गैरसरकारी अस्पतालहरूले जिल्ला सदरमुकाममा वार्षिक रूपमा यस्ता शिविर सञ्चालन गर्दै आइरहेको भए पनि सरकारी निकायले यस्ता रोगप्रति खासै चासो दिएका छैनन् । जिल्ला अस्पताल, विभिन्न पालिका अस्पतालमा पनि योसहित अन्य विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुन सके अझै यहाँका बिरामी काठमाडौँ विभिन्न सहरका अस्पतालहरूमा धाइरहनुपर्ने थिएन ।

ताजा खबर

सम्बन्धित खबर