काठमाडौं : ललितपुरको ग्वार्कोमा निर्माण भएको देशकै पहिलो फ्लाईओभर भएर गाडी ओहोरदोहोर गर्न तयार भएको छ । शुक्रबार फ्लाईओभरको उद्घाटन भएसँगै यहाँबाट गाडी गुड्न थाल्ने छ ।
फ्लाईओभरको मुख्य संरचना निर्माण सकिएसँगै सवारी साधन सञ्चालनका लागि तयार भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उद्घाटनसँगै ओभरपासबाटै सवारीसाधन सञ्चालन गरिने छ ।
फ्लाईओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुनेछ भने ट्राफिक व्यस्थापन पनि चुस्त हुनेछ । ग्वार्को ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । शुक्रबार अपरान्ह ४ बजे फ्लाईओभरको औपिचारिक उद्घाटन हुने पनि मन्त्रालयले जनाएको छ । यसअघि शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागका अधिकारीहरूले फ्लाईओभरको स्थलगत निरीक्षण गरेको थियो ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार मुख्य संरचनाको निर्माण सकिन्का साथै लेन सेपरेटर, लाइनिङ गर्नेलगायतका कामहरू पनि सम्पन्न भएको छ ।
आशिष समानान्तर रेलिगेर जेभी काठमाडौँले फ्लाई ओभर निर्माणको काम गरेको हो । केन्द्रका प्रमुख बाराहीले अब फ्लाईओभर भएरै सवारी सञ्चालनका लागि तयारी अवस्थामा पुगेको बताए । उनले १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा फ्लाईओभर निर्माण भएको बताए ।
ओभरपासको मुख्य संरचना निर्माणकार्य पूरा भएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले जानकारी दिए । २०७८ सालबाट ओभरपास निर्माण सुरु गरिएको हो ।
मुख्य संरचनाको निर्माण पूरासँगै लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने, ट्राफिक बत्ती जडानलगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको भण्डारीले जानकारी दिए । यो ओभरपास सञ्चालनपछि सवारीले ग्वार्कोमा रोकिनु नपर्ने र अनवरत घुम्न पाउने छन् ।
पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसके पछि सरकारको पटक पटक दबाबले ठेकेदार कप्म्पीले छिटो काम सकेको हो ।
चक्रपथमा गुड्ने सवारी साधनहरू ट्राफिक जाममा रोकिनु नपर्ने गरी सरकारले ईपीसी मोडलमा १२ फागुन २०७८मा निर्माण कम्पनी आशिष समानान्तर जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार ११ फागुन २०८०सम्म निर्माण सम्पन्न हुनुपर्ने थियो ।
२०८० फागुनमा नै सम्पन्न गर्ने गरी आयोजना अघि बढाइएको भए पनि पटक–पटक म्याद थपिएको थियो ।
२०७८ साल फागुन १२ गते राष्ट्रियस्तरको प्रतिस्पर्धामार्फत आशिष–समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजारमा ओभरपासको ठेक्का पाएको हो । २०८० फागुन १२ गते सम्पन्न गर्ने सुरुको म्यादमा सम्पन्न नभएपछि २०८१ पुस ८ गतेसम्मको म्याद थप भएको थियो । ठेकेदार कम्पनीले पुस ८ गतेसम्म सम्पन्न नगरेपछि चैत्र मसान्तसम्मको भाका मागेको थियो ।
उक्त भाकाअनुसार काम भइरहेकोमा ओभरपासको ४० मिटरको पुनर्निर्माणले थप एक महिना म्याद सारिएको थियो । २०८२ वैशाखभित्र ग्वार्कोको ओभरपास निर्माण सम्पन्न हुने लक्ष्य लिइएकोमा वर्षाका कारण थप एक महिना निर्माण पर सारिएको थियो ।
काठमाडौं उपत्यकाको चक्रपथमा विद्यमान सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्कोचोकमा ओभरपास निर्माण शुरु गरिएको थियो ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने ३ क्षेत्रमध्ये ग्वार्कोचोकमा पहिलो ओभरपास निर्माण भएको हो । ६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ भएको ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारीसाधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिएको छ ।
ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ओभरपास इन्जिनियरिङ–खरिद र निर्माण (ईपीसी) मोडलमा अघि बढाइएको हो । यो मोडलअन्तर्गत ठेकेदार कम्पनीले तोकिएको अवधिमा निर्माण सम्पन्न नगरे हर्जना तिर्नुपर्ने व्यवस्था छ । सोहीबमोजिम कम्पनीले हर्जना तिरिरहेको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
करिब १४ लाख सवारीसाधन गुड्ने काठमाडौं उपत्यकामा हालका वर्षमा ट्राफिक व्यवस्थापन निकै ठूलो चुनौती बन्दै आएको छ । बढ्दो सवारीका कारण उत्पन्न भएको यो समस्या तत्काल सजिलै समाधान नहुने यातायात विज्ञहरू बताउँछन् ।
४ प्रतिशतभन्दा कम सार्वजनिक सवारी संख्या भएको नेपालमा ६५ लाख सवारी दर्ता छन् । सवारीको कुल संख्याको ८० प्रतिशत मोटरसाइकल छन् ।
बलम्बु फ्लाई ओभरको काम अन्तिम चरणमा
काठमाडौंको नागढुंगा–बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको बलम्बुमा फ्लाई ओभर पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
राजमार्गबाट सुरूङ मार्गतर्फ सवारी साधन मोडिंदा ट्राफिक जामको समस्या हुने भएकाले बलम्बुमा फ्लाई ओभर निर्माण गरिएको हो । फ्लाई ओभर १२८ मिटर लम्बाइ र ७ मिटर चौडाइको हुनेछ ।