२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

इजरायलमा ७ हजार नेपालीको चिन्ता

निमिष झा
२०८२ असार १ गते ०७:०६
इजरायलमा ७ हजार नेपालीको चिन्ता

काठमाडौं : इजरायलले इरानमाथि आक्रमण गरेपछि चर्किएको युद्धका कारण त्यहाँ (इजरायलमा) रहेका नेपालीको चिन्ता बढेको छ । 

श्रमका लागि इजरायलको विभिन्न स्थानमा कार्यरत श्रमिक नेपालीहरूले असुरक्षित महसुस गरिरहेको बताएका छन् । इजरायलले इरानमाथि हवाइ आक्रमण गरेपछि जवाफमा इरानले पनि मिसाइल र ड्रोन आक्रमण गर्दा इजरायलमा नेपालीहरू त्रासमा परेका हुन् । 

नेपालीहरू आकाशमा उडिरहेको मिसाइल कहाँ कतिखेर पड्किन्छ भन्ने डर बढेको बताउँछन् । युद्धको सन्त्रासका कारण नेपालीहरू सुरक्षित स्थान तर्फ सरेका छन् । धेरै नेपाली सुरक्षित हुन बंकरमा बास बसेका छन् । इजरायलले शुक्रबार बिहानै इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि दुई देशबीच युद्ध चर्किएको हो । 

इजरायलले गरेको आक्रमणमा इरानी सेनाका प्रमुख मोहम्मद बाघेरी, इरानी रिभोलुसनी गाडर््सका प्रमुख हुसेइन सलामी, वरिष्ठ कमान्डर घोलम अली रसिद लगायतको मृत्यु भएको छ । 

इरानको नातान्जस्थित आणविक प्रशोधन केन्द्रलक्षित आक्रमणमा ६ आणविक वैज्ञानिकको समेत मृत्यु भएको छ । इरानी समाचार संस्था तस्निमका अनुसार आणविक वैज्ञानिकहरू अब्दुलहामिद मिनुचेहर, अहमदरेजा जोलफाघारी, सैयद अमिरहुसैन फक्ही, मुतलबिजादेह, मोहम्मद मेहदी तेहरान्ची र फरेदुन अब्बासीको ज्यान गएको हो । इजरायल–इरान युद्धलाई सन् १९८० को इरान–इराक युद्धसँग तुलना गरिएको छ ।

इजरायलको तेलअभिभमा भएको विस्फोटमा धेरै क्षति भएको छ । तेलअभिभको करिब ५ किलोमिटरको दुरीमा नेपालीहरू बंकरमा बसेका छन् । इजरायलमा झन्डै ७ हजार नेपाली कार्यरत छन् । त्यसमध्ये पछिल्लो समयमा केयरगिभरमा २ हजार जना पुगेका छन् ।

इजरायलमा खासगरी घरेलु कामदार र कृषि क्षेत्रमा नेपालीहरू जाने गर्छन् । इरानमा करिब २ दर्जन मात्र नेपाली छन् ।
इजरायल र इरान द्वन्द्वमा संलग्न हुने बित्तिकै उनीहरूसँग स्थल, जल र हवाई बाटोबाट जोडिने पूरै खाडी नै प्रभावित हुन्छन् । राजनीतिक रूपमा नेपालीहरूलाई मार नपरे पनि भौतिक र मनोवैज्ञानिक रूपमा ठूलो असर पर्छ ।

नेपाली सुरक्षित
इजरायल र इरानबीचको द्वन्द्व चर्केदा त्यसको प्रभाव समग्र मध्यपूर्व क्षेत्रमा फैलिन्छ । मध्यपूर्वमा तनाव चुलिँदा त्यहाँ काम गरिरहेका लाखौँ नेपाली श्रमिकहरूको सुरक्षाको चिन्ता बढ्ने गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले इरान र इजरायलबीच जारी युद्धलाई नियालिरहेको जनाएको छ । 

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले त्यहाँ कार्यरत नेपाली श्रमिकहरू सुरक्षित रहेको जानकारी दिए । ‘हामी नेपालीहरूसँग नियमित सम्पर्कमा छौं । कुनै समस्या या संकट आए दूतावासलाई खबर गर्न आग्रह गरेका छौं’, राजदूत पण्डितले भने ।

नेपालीलाई इजरायल सरकारको सुरक्षा मापदण्ड अनुसरण गर्न पनि दूतावासले अनुरोध गरेको छ । ‘यस्तो बेला सर्तकता अपनाइ अनावश्यक हिँडडुल गर्नु हुँदैन । युद्धको बेला आफूलाई जोगाउने कोसिस गर्नुपर्छ’, राजदूत पण्डितले भने ।
इजरायलमा प्रायः नेपालीहरू केयरगिभर रहेकाले उनीहरू भएको ठाउँमा बंकरको व्यवस्था छ । जसका कारण उनीहरूलाई बंकरभित्र लुक्न गाह्रो छैन ।

इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएकाले इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन दूतावासले आग्रह गरेको छ । उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासले अनुुरोध गरेको हो ।

इजरायल सरकारले सर्वसाधारणलाई आवतवाजत गर्न बन्द गरेको छ । बाहिर हिँड्न लकडाउन नै जस्तो गरिएको छ ।
आन्तरिक सुरक्षामा इजरायल बलियो भएको कारणले यहाँको जनताहरू आफूलाई सुरक्षित ठान्छन् । स्थानीय इजरायली सुरक्षित भएपछि नेपालीहरू पनि त्यतिकै सुरक्षित छन् ।

सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको हत्या भएको थियो । त्यस घटनामा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था अझै अज्ञात छ ।
त्यसयता सयौँको संख्यामा श्रमिकहरू स्वदेश फर्किएको र द्विपक्षीय श्रम समझदारी अन्तर्गत नै केअर गिभरका रूपमा १ हजारभन्दा धेरै जाने तय भएपनि त्यहाँको अस्थिर अवस्थाका कारण हालसम्म आधाभन्दा कम मात्र जान सकेको नेपाली अधिकारीहरू बताउँछन् ।

खाडीमा कति नेपाली ?
खाडी देशहरूमा नेपालीको वास्तविक संख्या प्रस्ट छैन । खाडी क्षेत्रका ६ देशहरू संयुक्त अबर इमिरेट्े (युएई), साउदी अरब, कतार, ओमान, कुवेत र बहराइनमा नेपालीहरू सबैभन्दा धेरै छन् ।

नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२२ अनुसार यी मुख्य ६ खाडी देश र मलेसियामा कुल नेपाली श्रमिक मध्ये ८५ प्रतिशत छन् । जसमध्ये इरानसँग पर्सिअन खाडीमार्फत जोडिने साउदी अरब, कतार र यूएईमा लाखौँका सख्यामा नेपालीहरू छन् । त्यसबाहेक यस द्वन्द्वमा जोडिएका इराक, लेबननमा समेत हजारौँको संख्यामा नेपाली श्रमिकहरू छन् ।

गैरआवासीय नेपाली संघका अनुसार अनुसार हाल इजरायलमा रहेका नेपालीहरू त्रासमा छन् । त्यहाँ द्वन्द्व जारी रहे वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेकोे नेपालीहरू प्रभावित हुनेछन् ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर