काठमाडौं : भारतमा कोरोनाको संक्रमण दर बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्ककता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर नेपालमा पनि पूर्वतयारी सुरु गरिएको बताए ।
उनले भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन हवाई नाका तथा हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बताए ।
कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिस देशभित्र वा देश बाहिर जहाँ भए पनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलता देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिएको प्रवक्ता बुढाथोकीले बताए । ‘भारतमा भएको संक्रमण १०÷१५ दिनमा नेपालमा आउँछ भन्ने विगतका अनुभवले देखाएको हुनाले हामी त्यसको पूर्वतयारीमा लगभग २ सातादेखि नै लागिरहेका छौं,’ उनले भने ।
देशभरका २५ वटा हब हस्पिटल र २ हजारभन्दा बढी सेटलाइट हस्पिटललाई तयारी अवस्थामा राखिएको प्रवत्तला बुढाथोकीले बताए । ‘सातै प्रदेशका रहेका हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरलाई पनि एक्टिभेट गरिसकेका छौं । देशभरिका ६ सयभन्दा बढी प्रयोगशालाको रिपोर्टलाई केन्द्र र प्रदेशले मनिटरिङ गरिरहेका छन् । संक्रमण फैलिइहाल्यो भने नियन्त्रण गर्न र धनजनको क्षति नहोस् भन्नका लागि अस्पतालहरूलाई पनि तयारी अवस्थामा राखेका छौं’, उनले भने ।
उनले संक्रमण बढ्दै गए उपलब्ध स्रोत, साधन र पूर्वाधारले ९० हजारदेखि एक लाखसम्मको जनसंख्यालाई धान्न सक्ने गरी तयारी गरिएको पनि बताए ।