काठमाडौं : काठमाडौंको धापासीमा रहेको ग्राण्डी अस्पतालमा ढाडको बांगोपनासँग सम्बन्धित स्कोलियोसिसबारे जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा आयोजित सचेतना कार्यक्रममा स्कोलियोसिसका शल्यक्रिया गरेका बिरामी आफन्तजन तथा अस्पतालका डाक्टर, नर्स कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
संसारभर अंग्रेजी महीनाको जुनलाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा विभिन्न कार्यक्रम गर्दै मनाइँदै आइएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले स्कोलियोसिसको समस्या जन्मदेखि नै हुने गरेपनि बढी मात्रामा १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा हुने गरेको बताए । जन्मजात बाहेक नसासम्बन्धी समस्याको कारण पनि उक्त समस्या देखिने गरेको डा विजुक्छेको भनाइ छ ।
स्कोलियोसिसको समस्या छोराहरुको तुलनामा छोरीहरुमा बढी मात्रामा हुने गरेको पाइन्छ । एक जना छोरामा देखियो भने सात जना छोरीहरुमा यो समस्या देखिने सम्भावना रहेको डा विजुक्छेले बताए ।
स्कोलियोसिसको समस्या घरका बुबाआमा र स्कुलका शिक्षक तथा साथीहरुले बढी मात्रामा पत्ता लगाउने गरेका छन् । लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नुलगायत यसका समस्या रहेको उनले बताए ।
डा विजुक्छेले मेरुदण्डको भाग बाँगो हुँदै गएको अवस्थामा यसले बच्चाहरुको फोक्सो र मुटुको कामलाई असर पुर्याउने गरेको भन्दै समयमै उपचार गर्न जरुरी रहेको बताए । नेपालमा सन् २००६ बाट स्कोलियोसिसको शल्यक्रिया सुरु गरिएको थियो ।
कार्यक्रममा स्कोलियोसिसका शल्यक्रिया गरेका बिरामी तथा आफन्तजनले स्कोलियोसिस समस्याका कारण भोग्नु परेका शारीरिक तथा मानसिक पीडका साथै उपचार पश्चात आफ्नो जीवनमा आएको परिवर्तनलगायतका विषयमा आफनो धारणा राखेका थिए । जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा अन्तर्राष्ट्रियरुपमा नै मनाउने गरिएको छ भने ग्राण्डी अस्पतालले पनि हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।