काठमाडौं : रुकुमपूर्वको सिस्ने गाउँपालिका पूर्ण खोप सुनिश्चितता प्राप्त गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।
१६ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई नियमित खोप सेवा उपलब्ध गराएर सिस्नेले पूर्ण खोप सुनिश्चितता हासिल गरेको हो । यस उपलब्धिपछि अब गाउँपालिकाभित्र ५ वर्षमुनिका बालबालिकाले खोप सेवाबाट वञ्चित हुनुपर्ने अवस्था नरहने जनाइएको छ ।
स्वास्थ्य कार्यालय रुकुमपूर्वका निमित्त कार्यालय प्रमुख तथा वरिष्ठ ल्याब टेक्निसियन निमप्रसाद गिरीले सिस्नेले खोप कार्यक्रमलाई प्राथमिकतामा राख्दै समुदायमै पुगेर जनचेतना अभिवृद्धि गरेको र नियमित खोप सेवा प्रभावकारी बनाएको बताए ।
गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले सबै पक्षको सहकार्य र प्रतिबद्धताको परिणाम स्वरूप यो उपलब्धि हासिल भएको बताउँदै आगामी दिनमा अन्य स्वास्थ्य सूचकहरूमा पनि सुधार गर्ने प्रतिबद्धता जनाए ।
यस्तै, कालीकोट जिल्लाको महावै गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सदस्य डा. डण्ड नेपालले ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित पालिकाको प्रमाणपत्र गाउँपालिका अध्यक्ष तथा पालिका स्वास्थ्य सेवा व्यवस्थापक खेमबहादुर सिंहलाई हस्तान्तरण गरेका हुन् ।
पालिकामा १ देखि ७ वटै वडाका शून्यदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका सबै बालबालिकाहरूले खोप पाइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नन्दी शाहीले बताइन् ।
गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको बताए । उनले भने स्वास्थ्य संस्थाको टोली सबै खोप केन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए नलगाएको सुनिश्चित गरेपछि मात्र पालिका घोषणा हुन्छ ।
गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताए । उनले भने स्वास्थ्य सेवा कार्यालयले खोप उपलब्ध गराउँदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनको भनाइ छ । खोपको पहुँच भन्दा कोही पनि बालबालिका बाहिर नरहेको उनले बताए ।
महावै विकट पालिका भएकाले खोप लगाउन र स्वास्थ्य सेवा दिन समस्या रहे पनि स्वास्थ्यकर्मीहरूले जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता दिगोपना घोषित गर्न सफल भएको छ ।