२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

चीन भ्रमणको राजनीतिक सन्देश

निमिष झा
२०८२ जेठ २० गते ०६:३५
चीन भ्रमणको राजनीतिक सन्देश

काठमाडौं : चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार स्वदेश फर्किएकी छन् । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी गत शनिबार चीन गएकी थिइन् ।

भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चीनका उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुखलगायतसँग भेटघाट गरेकी थिइन् । यस्तै उनले बेइजिङ र गान्सु प्रान्तमा चिनियाँ उच्च अधिकारी तथा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्षनेताहरूसँग पनि भेटघाट गरेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीसँग उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि स्वदेश फर्केका छन् । 

स्वदेश फर्केपछि मन्त्री दामोदर भण्डारीले भ्रमण उपलब्धिमूलक र फलदायी रहेको प्रतिक्रिया दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘भ्रमणले दुई देशबीचको सम्बन्धलाई झन् मजबुत बनाएको छ । भ्रमणले आर्थिक तथा कूटनीतिक परस्पर सम्बन्ध स्थापित गरेको छ ।’

एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको यो भ्रमणमा सरकार र पार्टी दुवैको प्रतिनिधित्व भएकाले त्यसैअनुसार चिनियाँपक्षबाट आपसी सम्बन्ध बलियो बनाउने दिशामा सकरात्मक सन्देश पाएको मन्त्री भण्डारीले बताए ।

उनले भ्रमणका क्रममा चिनियाँ उच्च अधिकारीले अहिले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारले नेपालमा राजनीतिक स्थायित्व दिएको भन्दै खुसी व्यक्त गरेको दाबी गरे ।

मन्त्री भण्डारीले भने, ‘समग्रमा नेपाल चीन सम्बन्ध र सहमतिको कार्यान्वयनमा पुनर्ताजगी भयो ।’ त्यसक्रममा नेपाल चीनको पुरानो सम्बन्ध, साझा मान्यता र सम्झौतालाई पुनर्ताजगी गर्ने सद्भाव भ्रमणका रुपमा रहेको मन्त्री भण्डारीको भनाइ छ ।

वाम एकताको पहल गर्न सुझाव

भ्रमणका क्रममा चिनियाँ नेताहरूले पूर्वराष्ट्रपति भण्डारीलाई वाम एकताका लागि पहल गर्न सिधा सुझाव दिएका छन् । भण्डारीलाई पूर्व राष्ट्रपतिको भन्दा एमालेको वरिष्ठ नेताका रूपमा सम्मान चीनले दिएको हो ।

एमालेले पूर्वराष्ट्रपतिको हैसियतले भण्डारी चीन भ्रमणमा गएको बताए पनि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले एमाले वरिष्ठ नेताका रूपमा उनलाई सम्मान गरेको छ ।

सीपीसी विदेश विभाग प्रमुख लिउ चियानछाओले नेपालमा राजनीतिक स्थायित्वका लागि वामपन्थी शक्ति मिल्न आवश्यक भएको सुझाव भण्डारीलाई दिए । लिउ र भण्डारीबीच बेइजिङमा शनिबार नै भएको थियो । उनले भण्डारीलाई वाम एकताका लागि नेतृत्व लिनु राम्रो हुने सुझाव दिएको भ्रमण्मा सहभागी एक नेताले बताए । 

सीपीसीका नेताहरूले भण्डारीलाई दिएको सुझाव यसअघि माओवादी केन्द्रका नेताहरूलाई पनि दिएका थिए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच द्वन्द्व उत्कर्षमा पुगेको त्यति बेला राष्ट्रपति रहेकी भण्डारीले मिलाउने प्रयास समेत गरेकी थिइन् तर सफल हुन सकेकी थिइनन् ।

उच्चस्तरीय सहभागिता

सीपीसीले बेइजिङमा आयोजना गरेको छिमेकी देशका नेताहरूको सम्मेलनमा भण्डारीलाई प्रमुख वक्ताका रूपमा सहभागी गराएको थियो । नेपाल, मलेसिया, पाकिस्तान, श्रीलंका, थाइल्यान्डलगायत देशका नेतालगायत सम्मेलनमा सहभागी थिए । सम्मेलनमा भण्डारीले सीपीसीको ऐतिहासिक अनुभव र समसामयिक अभ्यासले नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहयोग मिलेको बताएकी थिइन् ।

यस्तै, भण्डारीले चीनको गान्सु प्रान्तमा पनि सभ्यता आदानप्रदान संवादलाई सम्बोधन गरेकी थिइन् भने १३ औं राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष ची बिंग्सुआनसँग भेटवार्ता गरेकी थिइन् । 

भण्डारीको भ्रमण त्यस्तो समयमा भएको जतिबेला उनी सक्रिय राजनीतिमा आउने चर्चा चलेको छ भने एमालेको आगामी नीति महाधिवेशन पार्टीकै नेतृत्व लिने तयारी गरिरहेको बेला भएको हो । भ्रमणमा सहभागी नेताका अनुसार चिनियाँ नेताहरूसँग भएको भेटबाट उनी उत्साहित छिन् भने एमालेको आगामी  महाधिवेशनले भण्डारीको पुनः आगमनका लागि मार्ग प्रशस्त गर्नेछ ।

चीन भ्रमणबाट उत्साहित भण्डारी चाँडै भारतको भ्रमणमा पनि जाने तयारीमा छिन् ।

भण्डारी निकट पूर्वमन्त्री गोकुल बाँस्कोटाका अनुसार भण्डारीले पार्टी सदस्यता पनि नवीकरण गरिसकेकी छिन् र अब राजनीतिक नेताको रूपमा पूर्ण रूपमा तयार छिन् ।

राष्ट्रपति हुँदा भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत अन्तर्राष्ट्रिय नेताहरूसँग संवाद गरेर अन्तर्राष्ट्रिय नेतृत्व पनि देखाएकी थिइन । 

एमालेकी पूर्वउपाध्यक्ष पनि रहिसकेकी भण्डारी २ पटक राष्ट्रपति भएकी हुन् । उनी अहिले पुनः पार्टी राजनीतिमा फर्कने उपयुक्त समय कुरिरहेकी छन् । 

भ्रमणमा साथ रहेका नेताका अनुसार भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन पनि चीन भ्रमणको महत्वपूर्ण विषय बनेको छ । ‘उहाँले आफू सक्रिय राजनीतिमा फर्कन चाहेको स्पष्ट रूपमा बताइरहनु भएको छ, त्यसैले चिनियाँहरू पनि उहाँसँग संलग्न हुन चाहन्छन्’ एक नेताले भने ।

भण्डारीसँगको भेटमा चिनियाँ नेताहरूले नेपालको आन्तरिक राजनीतिक अवस्था बुझ्न पनि चासो देखाएका थिए ।

भेटघाट तथा छलफलहरूमा भण्डारी एमाले नेताकै रूपमा प्रस्तुत भएकी थिइन् । चिनियाँ नेताहरूले उनलाई सफल राष्ट्रपतिको कार्यकालका लागि बधाई दिनुका साथै पार्टी नेताको रूपमा फर्किएमा उनको रणनीति के होला भनेर बुझ्न चाहेका थिए ।

चिनियाँ नेताहरूको बुझाइ अनुसार भण्डारी एमालेको नेतृत्व लिन फर्कन लागेकी हुन् भने उनले वामपन्थी एकताको पक्षमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने चीनको चाहना रहेको सुनाएका थिए ।

ADV

सम्बन्धित खबर