काठमाडौं : गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ ।
मन्त्रालयलृ बर्दिया, कास्की, धनुषा जिल्लाका प्रजिअहरूको फेरबदल गरेको छ भर्ने पाँचथरमा नयाँ प्रजिअ खटाइएको छ ।
बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ भने कास्कीका सिडिओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ ।
शर्माको स्थानमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई बर्दियाको जिम्मेवारी दिइएको छ ।
यसैगरी, धनुषाका प्रजिअ रामु राज कडरियालाई मन्त्रालयमा तानिएको छ भने सुर्खेतबाट केही समयअघि मन्त्रालयको बरन्डामा राखिएका शंकरहरि आचार्यलाई धनुषा पठाइएको छ ।
त्यस्तै, पाँचथरमा सहसचिव अरुण पोखरेललाई प्रजिअको जिम्मेवारी दिइएको छ । पाँचथरका विष्णु प्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृत बनाइएपछि रिक्त भएको उक्त स्थानमा नवलपरासी (पूर्व) बाट मन्त्रालयमा तानिएका पोखरेललाई खटाइएको हो ।
समयावधि पूरा भएका वा मन्त्रालयले आवश्यक ठानेका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिए पनि करिब एक दर्जन सहसचिवहरूलाई जिम्मेवारीविहीन बनाई मन्त्रालयको बरन्डामा राखिएको छ ।
तीमध्ये पोखरेल र पौडेलको व्यवस्थापन भए पनि अन्य सहसचिवहरू महिनौँदेखि हाजिरी गरेर घर फर्किरहेका छन् ।