काठमाडौं : गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैयास्थित वइलफेयर रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
गोरखा सेवा समाजका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ग्लोबल गोरखा समाजका उपाध्यक्ष, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व उप–संयोजक श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता थियो ।
सन् २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतारको नेपाली समुदायको अग्रणी संस्था हो । स्थापनाकालदेखि नै परोपकारी तथा सामाजिक कार्यमा अग्रसर रहेको यो संस्थाले जिल्ला अस्पताल गोरखामा एउटा इसिजी मेसिन, ४ वटा स्ट्रेचर बेड, विद्यालय भवन निर्माणमा सहयोग गर्दै हाल २५ लाख रुपैयाँको अक्षयकोष खडा गरी जिल्लाका विभिन्न विद्यालयका विपन्न, असहाय र संरक्षित बालबालिकाहरूलाइ सहयोग गर्दै आइरहेको छ ।
नेपाली कला, भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न मनकामना कला केन्द्र सञ्चालनमा ल्याई कलाकार उत्पादन र मौलिक संस्कृतिको जगेर्ना गर्न सफल भएको संस्थाका संरक्षक बुधबल गुरुङले बताए । समाजले जिल्ला भित्रका सडक तथा गल्लीहरूमा भौँतारिरहेका बेसाहाराहरूलाइ सेवा गर्न मानव सेवा आश्रमसँग हातेमालो गर्दै विभिन्न जनचेतनामूलक, ज्ञानवद्र्धक र मानव मुक्त गोरखा बनाउन चरणद्ध रूपमा काम गर्दै आइरहेको र भर्खरै मात्र पनि मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १११रुपैयाँ हस्तान्तरण गरेको राकेश श्रेष्ठले जानकारी दिए ।
प्रमुख अतिथि भट्टराईले २००३ मा स्थापना भएर आजसम्म आइपुग्दा समाजले गरेको योगदानलाई हृदयङ्गम गर्दा आफू गौरवान्वित भएको बताउँदै संस्थाले गरेका कामहरूको प्रंशसा गरे ।
१३औ अधिवेशनबाट २०२५–०२७ का लागि नयाँ कार्यसमिति गठन भएको छ । समितिको अध्यक्षमा विकाश श्रेष्ठ चयन भएका छन् । यस्तैमा वरिष्ठ उपाध्यक्षमा अर्जुन संग्रौला र उपाध्यक्षमा राजेन्द्र पराजुली तथा रामचन्द्र गिरीलाई चयन गरिएको छ ।
महासचिवमा रुद्र बहादुर भट्ट र सचिवहरूमा पवन गुरुङ र पूर्ण बहादुर गुरुङ हुन् । कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः अशोक श्रेष्ठ र दिनेश थापा छन् ।
नगरपालिका तथा गाउँपालिका संयोजकहरूमा पालुङटार नगरपालिकाका नन्दलाल श्रेष्ठ, सिरानचोक गाउँपाकिलाका सूर्यबहादुर गुरुङ, अजिरकोट गाउँपालिकाका राजु गुरुङ, शहिदलखन गाउँपालिकाका दीपक बि.क र आरुघाट गाउँपालिकाका रश्मि गुरुङ छन् ।
यस्तै समाजको केन्द्रीय सदस्यहरूमा दुर्गा भुजेल, मालती गुरुङ, मदन बखाती र प्रदिप मल्ल ठकुरी छन् ।