२०८२ जेठ १९ गते सोमवार / Jun 02 , 2025 , Monday
२०८२ जेठ १९ गते सोमवार
Ads

राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले गरे चक्काजाम

मध्यान्ह
२०८२ जेठ १७ गते १६:४३
राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले गरे चक्काजाम

काठमाडौं : यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोध गर्दै काठमाडौंमा एक घण्टा चक्का जाम गरेका छन् । 

उनीहरूले ७ बुँदे मागसहित आन्दोलनमा उत्रेका छन् । यसअघि यातायात व्यवसायीहरूले प्रदेशका मुख्यमन्त्री र सरोकारबाला सबै मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । ‘हाम्रो माग पूरा नभएपछि घोषित कार्यक्रमअन्तर्गत शनिबार चक्रपथमामा कालोझन्डासहित एक घण्टा चक्का जाम गरेरविरोध गरेका हौं,’ नेपाल यातायत स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले भने ।

प्रदेश सरकारहरूले बनाएको ऐन नियमावलीका कारण सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलन गर्नु परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले बताए । उनका अनुसार सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारले नियमावली ल्याउन लागेका हुने प्रदेश सरकारले यसरी छुट्टै नियमावली ल्याउन नहुने व्यवसायीको माग छ ।

गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न नियमावली ल्याएको हो । व्यवसायीहरूले त्यसको विरोध गर्दै तत्काल खारेज हुनुपर्ने माग गरेका छन् । 

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पनि प्रदेश सरकारलाई ऐन नियमावली बनाउने अधिकार भएको बताउँछन् । ‘राइड सेयरिङ, लाइसेन्स लगायतका सबै काम प्रदेश मातहत छ,’ पोखरेलले भने, ‘हाम्रो काम मापदण्ड बनाउने मात्र हो । संविधानअनुसार प्रदेश सरकारले आफ्नो काम गरेको छ ।’

यातायात व्यवसायीहरुले यसबाहेक सर्वोच्च अदालतबाट संघसंस्था दर्ता ऐन २०३४ मा रहेका संघ समिति नवीकरण सम्पत्ति फुकुवाको २०८० चैत्र २० गतेको परमादेश तत्काल कार्यान्वयन हुनुपर्ने पनि माग राखेका छन् । सवारी ऐन २०४९ संशोधन क्रममा रहेको अवस्थामा नेपाल सरकारसँग यातायात व्यवसायी महासंघ र मजदुर संघसंगठनसँग विभिन्न मितिमा भएको सम्झौता सहमति र सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग पनि उनीहरूको छ ।

व्यवसायीले आइतबार माइतीघरमा विरोध कार्यक्रम गर्ने छन् । त्यसपछि पनि माग सम्बोधन नभए जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालका लागि आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्क्याई आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर