टोकियो : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न भएको एसिया–प्रशान्त दूरसञ्चार (एटीपी) २०२५ मन्त्रिस्तरीय बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरुङले डिएनफको सफल कार्यान्वयनका लागि सूचना प्रविधिको पारिस्थितिक प्रणाली र अनुकूल वातावरणको तत्परता आवश्यक रहेको बताए ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले डिजिटल अर्थतन्त्र वृद्धिसँगै सुरक्षित, समावेशी र अवसरयुक्त डिजिटल युग निर्माण गर्न खोजिएको भनाइ राखे । साथै, सुरक्षित र विश्वसनीय डिजिटल वातावरणको आजको आवश्यकता रहेकोमा जोड दिँदै नेपालमा डिएनएफले डिजिटल रूपान्तरणको लागि सुरक्षा र विश्वासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
नागरिकलाई सशक्त बनाउन, साइबर सुरक्षा मुद्रा निर्माण गर्न, डिजिटल पूर्वाधारमा लगानी गर्नका लागि सरकार लागेको उनको भनाइ थियो । साथै डाटा सुरक्षित गर्नुका साथै नवप्रवर्तनलाई तीव्रता दिने विषयमा पनि नेपालको प्रमुख चासो रहेको उनले बताए ।
त्यस्तै नेपाल एपिटीसँग गहिरो साझेदारीका रुपमा संलग्न भई, ज्ञान बाँड्ने प्रतिबद्धतासमेत मन्त्री गुरुङले राखे । नेपालले प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र नीतिगत संलग्नतामा एपिटीले प्रदान गरेको सहयोगलाई गहिरो रूपमा महत्व दिने मन्त्री गुरुङको भनाइ थियो ।
नेपाल डिजिटल छलाङको चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा उद्योग स्थापना गर्न, रोजगारी सिर्जना गर्न, कुल ग्राहस्थ्य उत्पादन बढाउन, नवीन र समावेशी अर्थतन्त्र सिर्जना गर्न दृढ सङ्कल्पका साथ काम गरिरहेको उनले बताए ।