काठमाडौं : इँटाभट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलम उच्च अदालतबाट सफाइ पाएका छन् ।
उनीमाथि जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । तर, उच्च अदालत वीरगञ्जको इजलासले सो फैसला उल्ट्याउँदै उनलाई निर्दोष ठहर गरेको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो रात, चैत २७ गते, रौतहटको राजपुरस्थित एउटा इँटाभट्टामा बम विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै जलाएर हत्या गरेको आरोप आलममाथि लागेको थियो । उक्त घटनामा त्रिलोकप्रताप सिंह र ओशी अख्तरलगायतका व्यक्तिहरू मारिएका थिए ।
१२ वर्षसम्म फरार रहेका आलमलाई रौतहट प्रहरीले २०७६ साल असोज १९ गते पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा आलमले आफ्ना समर्थकहरूलाई बम बनाउने निर्देशन दिएका थिए भन्ने देखिएको थियो । विस्फोटमा परेर घाइते भएका व्यक्तिहरूलाई घटना सार्वजनिक नहोस् भनेर इँटाभट्टामा जलाइएको आरोप थियो ।