हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिज वर्षको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम बुधबारको प्रदेशसभा बैठकमा पेश गरेका हुन् ।
सरकारको तर्फबाट भएको नीति तथा कार्यक्रममा आगामी बजेटमा योजना बैंकमार्फत कार्यक्रम अघि बढाउने उल्लेख छ ।
हरेक वर्षको बजेटमा विवाद बढेपछि यो पटक सरकारले योजना बैंक मार्फत निर्वाचन क्षेत्रको कार्यक्रम तय गर्ने नीति अघि सारेको हो । सरकारले विपद जोखिमलाई ध्यान दिएर आगामी आर्थिक वर्षबाट विपद बिमा कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारको मातहतमा आफ्नै प्रहरी नहुँदा समस्या भएको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रम मार्फत अन्य प्रदेश सरकार र संघको समन्वयमा संघीय सरकारसँग प्रदेश प्रहरीको विषयमा छलफल गर्ने उल्लेख गरेको छ ।
नीति तथा कार्यक्रमले भौतिक पुर्वाधार निर्माणमा जोड दिएको छ । भौतिक निर्माणको लागि एकद्वार प्रणालीको विकास गरिने कार्यक्रममा उल्लेख छ ।
सरकारले ‘एकीकृत बस्ती, समृद्ध शहरको नीति’लाई अघि बढाउदै प्रदेश भित्रका ती क्षेत्रको पहिचान गर्नुको साथै उदयमान सहरको स्थापना गर्ने उल्लेख गरेको छ ।
‘सडक र पुल ः विकासको मूल’ भन्ने नारासहित प्रादेशिक सडकको गुरुयोजना अधावदिक र प्रदेश लोकमार्ग निर्माणमा सरकारले ध्यान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।