२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

एक्लिए बालेन, सकेनन् बैठक राख्न

shivam cement
जानकी पाठक
२०८२ जेठ १३ गते ०६:२५
एक्लिए बालेन, सकेनन् बैठक राख्न

काठमाडौं : नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकारमा प्रतिपक्षी आसनको व्यवस्था नभएपनि काठमाडौं महानगरपालिका भने आन्तरिक लफडामा फसेको छ । स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र नेकपा एमालेबाट निर्वाचित उपमेयर सहित कार्यपालिका सदस्यहरूबीचको विवाद सतहमा पुगेको छ ।

मेयर साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादको आगो कार्यपालिकाभित्र सल्किएको हो । ४१ कार्यपालिका सदस्यहरूले मेयर बालेनलाई छिटो कार्यपालिका बैठक बोलाउन माग गरेका छन् । 

मेयर साह बाहेक कार्यपालिकामा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व छ ।

मेयर साहले १ जेठमा सूचना प्रविधि समिति संयोजकबाट नविन मानन्धरलाई हटाएर काठमाडौं–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति, सुशासन समिति संयोजकबाट काठमाडौं–२६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समिति संयोजकबाट काठमाडौं–८ का वडाध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी तोकेका थिए । 

त्यस्तै, विधायन समिति संयोजकबाट काठमाडौं–२३ का वडाध्यक्ष मचाराजा महर्जनलाई हटाएर वडा नम्बर–१६ की अध्यक्ष रोजिना श्रेष्ठलाई जिम्मेवारी तोकिएको थियो । श्रेष्ठले भने यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् । साहको पछिल्ला गतिविधिप्रति महानगरका सबै पदाधिकारीहरू रूष्ट बनेका छन् । यसले आगामी बजेट निर्माणमा समेत झमेला बढेको जनप्रतिनिधिहरू बताउँछन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको १ पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि महानगरपालिकाको कार्यपालिका बैठक ८ पुसदेखि बस्न सकेको छैन । प्रमुखको काम, कर्तव्य र अधिकारमा पनि सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने उल्लेख छ । ‘कम्तीमा १ महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिकाभित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायत पनि अन्योलमा पर्दै आएका छन्,’ प्रवक्ता नवीन मानन्धरले भने, ‘स्थानीय तहले १५ असारसम्म बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । 

तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन । बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने–नआउने समेत अन्योल देखिएपछि मेयरलाई घचघच्याएको उनले बताए । मेयर बालेनले तोकेको जिम्मेवारी कार्यपालिका बैठकबाट अनुमोदन नभएको भन्दै ३ जना वडाध्यक्षले अस्वीकार गरेका थिए । 

२१ चैतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ हाजिर हुन कार्यालय जाने क्रममा मेयर साहको निर्देशनमा नगरप्रहरीले उनीसहित जनप्रतिनिधिलाई महानगर प्रवेशमा रोक लगाएका थिए । त्यसयता उपप्रमुख सुनितासहित वडाअध्यक्षहरू र कर्मचारी संयन्त्र समेत मेयरप्रति असन्तुष्ट थिए । नगरकार्यपालिकाका सबै सदस्यले एक्लो बनाएका मेयर साह काम गर्न सक्ने अवस्थामा छैनन् ।

गत हप्ता प्रमुख प्रशासकीय अधिकृत गुुरागाईँले कार्यालय प्रवेशमा रोक लगाउने हर्कतमा उत्रिएका महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । नगर प्रहरी प्रमुख पाण्डेले सोमबार गुरागाईंलाई स्पष्टीकरण बुझाएका छन् । पाण्डेले आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना गरेको स्पष्टीकरणमा लेखेका छन् ।

स्पष्टीकरणमा कर्मचारीका रूपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्ययममा अनधिकृत बयान दिएको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको भन्दै पाण्डेलाई गुरागाईंले स्पष्टीकरण सोधेका थिए । ७ दिनभित्र स्पष्टीकरण पेस नगरे वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरेकोमा पाण्डेले सोमबार स्पष्टीकरण बुझाएका हुन् ।

ADV

सम्बन्धित खबर

Advertise