काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले युवालाई विदेश पठाएर शिक्षा क्षेत्र अघि बढ्न नसक्ने बताए । उनले अहिलेको शिक्षाको स्थितिलाई कसरी सम्बोधन गर्ने ? भन्नेबारे सोच्न जरुरी रहेको बताए । उनले बुद्धिजीवीहरुलाई राजनीतिक दलहरुको चाकरी नगर्न आग्रह गरे ।
मन्त्री पन्तले भने, ‘युवा पुस्तालाई विदेश पठाएर न मुलुकको अर्थतन्त्र अघि बढ्छ । न मुलुकको शिक्षा क्षेत्र अगाडि बढ्छ । त्यसैले मुल कुरा भनेको यसलाई आज सम्बोधन कसरी गर्ने ? मैले यही मोडालिटी खोजेँ । मलाई सबैभन्दा बढी हेर्न मन लागेको चाइनिज, इण्डियन, अमेरिकी, ब्रिटिश र बंगलादेशको पनि हेरेँ । मैले शुरुदेखि कुनकुन मोडालिटीमा गएका रहेछन् भनेर डकुमेण्ट नै बनाउन लगाएँ । हामीले यहँँ प्राइभेट लगानी बन्द गरेर जानसक्छौँ ? बुद्धिजीवि साथीहरु, प्राज्ञहरु घाँस नखानुहोस् । घाँस खान खोज्ने हो भने राजनीतिज्ञहरुले घाँसै खुवाएर राख्छन् । घाँस नखाने अठोट हामीले गर्ने हो । बुद्धिजीवले गर्ने हो । डिन, रेक्टर चाहिन्छ भने दौडधुप गर्न थालेर लौ न बनाइदेउ भनेपछि उनीहरुले के खोज्छन् । लौ न सर भिसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री तपाईंकोमा आउने परिस्थिति निर्माण गर्नुस् न ।’
मन्त्री पन्तले नेपाललाई शिक्षा क्षेत्रमा अघि बढाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।