काठमाडौं : चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि त्यसमा संलग्न भएको आरोपमा ६१ जनाविरुद्ध मुद्दा चलाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, पूर्वगृहमन्त्री धवलशमशेर राणा, राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, र दुर्गा प्रसाईंसहित ५० जनालाई राज्यविरुद्धको कसुरमा प्रतिवादी बनाइएको छ ।
त्यस्तै, बाँकी ११ जनालाई आपराधिक उपद्रवको अभियोगमा छुट्टै मुद्दा दर्ता गरिएको छ । दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान, ज्यान मार्ने प्रयास र संगठित अपराधजस्ता गम्भीर अभियोगहरू पनि लगाइएको छ ।
चार जना नाबालकमाथि अनुसन्धान जारी रहेकोले उनीहरूमाथिको प्रक्रिया बाल अदालतबाट अगाडि बढाइनेछ ।
मिश्र र राणा दुवैलाई राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव र संगठित अपराधमा संलग्न भएको अभियोगमा समावेश गरिएको छ । उता प्रसाईंमाथि भने यिनै सबै कसुरसँगै ज्यानसम्बन्धी मुद्दाहरू पनि थपिएको छ ।
तीनकुनेको घटनामा राजावादी प्रदर्शनकारीहरूले दुर्गा प्रसाईंलाई ‘कमाण्डर’ घोषणा गर्दै सडकमा उत्रेका थिए । प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजकको घरमा आगजनी हुँदा मृत्यु भयो भने कीर्तिपुरका सविन महर्जन प्रहरीको गोली लागेर ज्यान गुमाउन पुगे ।
त्यस दिन प्रदर्शनकारीले सडकमा सार्वजनिक र निजी सम्पत्तिमा व्यापक क्षति पुर्याए । सरकारी सवारी साधनसमेत जलाइएका थिए ।