काठमाडौं : निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिरियड राख्न नहुने माग गर्दै संघीय संसद सचिवालयका महासचिवसहितको टोलीले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेको छ । बिहीबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा पुगेर महासचिव सहितका सचिवहरुले अध्यक्ष दाहालसँग निजामती विधेयबाट कुलिङ पिरियड हटाउन आग्रह गरेका हुन् ।
अध्यक्ष दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पद्मप्रसाद पाण्डेयले निजामती कर्मचारी रिटायर्ट भएपछि दुई वर्षसम्म कुनै सरकारी वा संवैधानिक निकायमा नियुक्ति हुन नपाउने विषयले रिटायर्ड हुने बेलामा वा भइसकेपछि डिस्क्वालिफाइड गराएर रिटायर्ड गराउन उपयुक्त नहुने आफूहरुको आग्रह रहेको बताए ।
उनले नियुक्ति गर्ने कि नगर्ने भन्नेकुरा सम्बन्धित निकाय, सरकारले आफैं गर्नसक्ने भएकाले रिटायर्ट हुँदै गर्दा कर्मचारीको अपमान गर्न नहुने बताए । कुलिङ पिरियड राख्नु भनेको आफैंमा संवैधानिक विषय नभएको र कुन संवैधानिक निकायमा कुन पदाधिकारी वा कस्तो योग्यता भएको व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेकुरा संविधान आफैंले बोलेको उनले बताए ।
निजामतीबाट आउट भइसकेको कर्मचारीलाई निजामती ऐनको विषय नरहने उनले बताए । कुलिङ पिरियडको बारेमा कर्मचारीको विरोध नरहेको भन्दै उनले राख्ने नै भए संविधानमा वा संवैधानिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी सेवा शर्त सम्बन्धी ऐनमा राख्नुपर्ने प्रस्ताव गरे । जुन पदमा नियुक्ति गरिने हो त्यहीसम्बन्धी कानुनमा नराख्ने हो भने संविधान विपरीत हुने उनको भनाइ छ ।
महासचिव पाण्डेयले अहिलेको कुलिङ पिरियडको कुरा समानताको हक विपरीत रहेको बताए ।