२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल आउँदै, २ देशबीच विकास सहयोगसम्बन्धी नयाँ घोषणा हुने

G Motors
२०८२ जेठ ८ गते ०६:१०
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल आउँदै, २ देशबीच विकास सहयोगसम्बन्धी नयाँ घोषणा हुने

काठमाडौं : न्युजिल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स यसै साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको यो भ्रमण न्युजिल्यान्डका परराष्ट्रमन्त्रीको पहिलो भ्रमण हुने छ ।

परराष्ट्रमन्त्री पिटर्स यसै हप्ता नेपालसहित विभिन्न देशको भ्रमणमा निस्कँदै छन् । उनी २३ देखि ३१ मेसम्म नेपालसहित अस्ट्रेलिया, श्रीलंका र भारतको भ्रमण गर्ने छन् ।

पिटर्सले भ्रमणको सुरुवात अस्ट्रेलियाको एडिलेडबाट गर्ने छन्, जहाँ उनी अस्ट्रेलियाली समकक्षी पेनी वोंगसँग परराष्ट्रमन्त्रीस्तरीय छलफलमा भाग लिने छन् । त्यसपछि पिटर्स दक्षिण एसियाको भ्रमणमा निस्कने छन् । दक्षिण एसियामा उनले श्रीलंका, नेपाल र भारतको भ्रमण गर्ने छन् ।

कोलम्बोमा पिटर्सले सन् २०१३ यता श्रीलंकाको भ्रमण गर्ने पहिलो न्युजिल्यान्डका परराष्ट्रमन्त्री हुने छन् । उनले राष्ट्रपति अनुरा कुमारा दिसानायके, प्रधानमन्त्री हरिणी अमरसुरिया र परराष्ट्रमन्त्री विजिता हेराथसँग भेटवार्ता गर्ने छन् ।

यस्तै, काठमाडौंमा पनि पिटर्सले परराष्ट्रमन्त्रीस्तरीय छलफल गर्ने छन् । न्युजिल्यान्डका परराष्ट्रमन्त्रीको रूपमा नेपाल भ्रमण गर्ने उनी पहिलो व्यक्ति हुने छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गर्ने छन् ।

‘यो भ्रमण नेपाल र न्युजिल्यान्डबीचको विशेष सम्बन्धलाई उजागर गर्ने छ, जुन तेन्जिङ नोर्गे र एडमन्ड हिलारीको सगरमाथा आरोहणको वार्षिकोत्सवसँग पनि मेल खान्छ’, पिटर्सले भनेका छन्, ‘साथै, यो भ्रमण गत वर्ष नेपालका परराष्ट्रमन्त्रीको राजधानी वेलिङ्टन भ्रमणको प्रत्युत्तरस्वरूप पनि हुने छ ।’

नेपाल भ्रमण सकेर त्यसपछि पिटर्स नयाँ दिल्ली जाने छन्, जहाँ उनले भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरसँग भेट गर्ने छन् ।

हिमालयन ट्रस्ट (न्युजिल्यान्ड)का महाप्रबन्धक अलेक्जेन्डर हिलारीका अनुसार यो न्युजिल्यान्डबाट हुने पहिलो मन्त्रीस्तरीय भ्रमण हो । ‘भ्रमणको क्रममा पिटर्सले सगरमाथा क्षेत्रका २ ऐतिहासिक परियोजनाहरूको अवलोकन गर्ने छन्, जुन हिमालयन ट्रस्टको सहयोगमा सञ्चालनमा छन्’, उनले बताए ।

साथै, नेपाल र न्युजिल्यान्डबीच विकास सहयोगसम्बन्धी नयाँ घोषणाको पनि अपेक्षा गरिएको छ ।

नेपाल र न्युजिल्यान्डबीचको सम्बन्ध सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक सन् १९५३ मा सगरमाथा आरोहण गरेपछि गहिरो हुँदै आएको छ । हाल न्युजिल्यान्डले सगरमाथा क्षेत्रको शिक्षा क्षेत्रमा शिक्षक प्रशिक्षण, छात्रवृत्ति, विद्यालय पूर्वाधार तथा स्थानीय शैक्षिक निकायहरूसँग समन्वयमा काम गरिरहेको छ ।

न्युजिल्यान्ड सरकारले हरेक वर्ष हिमालयन ट्रस्टलाई सहयोग प्रदान गर्दै आएको छ । सन् २००८ मा हिलारी फेलोसिप स्थापना गरिएको थियो, जसअन्तर्गत नेपाल र भारतका युवा नेताहरूले न्युजिल्यान्ड भ्रमण गर्ने अवसर पाएका छन् । 

सन् १९९४ देखि हालसम्म करिब ३० मिलियन न्युजिल्यान्ड डलर नेपालको विकासमा लगानी गरिएको छ । न्युजिल्यान्डले विशेष गरी नेपालको शिक्षा, क्षमता अभिवृद्धि र कृषि क्षेत्रमामा सहयोग गर्दै आएको छ ।

न्युजिल्यान्डले कोलम्बो योजनाअन्तर्गत सन् १९५० को दशकदेखि नै नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise