काठमाडौं : ‘करुणा’ लेखक राधिका शाक्यको सम्पादकहरूसँग संवाद कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपालले सुकेधारास्थित मक्र्योर होटलमा सो संवाद कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा करिब ३ दर्जन सम्पादकहरूले पुस्तक ‘करुणा’का बारेमा जिज्ञासासँगै सुझाव राखेका थिए । सम्पादकहरूको जिज्ञासामा जवाफ दिँदै प्रथम महिला शाक्यले पुस्तक ‘करुणा’ कसैलाई उपदेश दिन या कसैका फाइदाका लागि नलेखेको स्पष्ट पारिन् ।
आफ्नो सानैदेखि केही न केही लेख्ने बानी रहेको बताउँदै उनले त्यही क्रममा आफूले आफ्नो भोगाइ लेख्दै गएको सुनाइन् । कतिपय महिलाहरूमा फेशन, गरगहना या अरुकाबारेमा गफ गरेर अल्झिने बानी भएपनि आफू लेख्नमै रमाउने गरेको पनि उनले बताइन् ।
उनले केपी शर्मा ओलीसँग विवाह गरेको करिब ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उल्लेख गरिन् ।
कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको र आफूले कुनैपनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने उनले बताइन् । आफूले राजनीति नगरेपनि राजनीति बुझ्ने उनको भनाइ थियो । साथै उनले आफू कहिल्यै राजनीतिमा नआउने पनि स्पष्ट पारिन् ।
संवादका क्रममा सम्पादकहरूले शाक्यलाई तपाईं राजनीतिमा आउन लागेको हो कि भनेर प्रश्न गरेपछि उनले भनिन्, ‘म राजनीतिमा आउँदिनँ । तपाईंहरू ढुक्क हुनुहोस् ।’
प्रथम महिला शाक्यले आफूमा कुनै लोभ, लाभ, अवसर खोज्ने चाहना र महत्वकांक्षा नरहेको पनि स्पष्ट पारिन् । साथै उनले देश द्रुत गतिले विकास हुन नसक्नुमा राजनीतिक अस्थिरता नै प्रमुख कारक रहेको भन्दै राजनीतिक अस्थिरतामा मिडियाको पनि हात रहेको हो कि भन्ने आफूलाई लागेको बताइन् । उनले मिडियासँग निष्पक्ष भूमिका निभाउन आग्रह गरिन् ।
कार्यक्रममा वरिष्ठ साहित्यकार, समालोचक तथा प्राध्यापक डा. देवी नेपालले पुस्तकाबारे टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी प्रथम महिला राधिका शाक्यको कृति ‘करुणा’ संवेदना, संघर्ष र संकल्पको अनुभूतिको दस्तावेज भएको बताए ।
पुस्तकमा उल्लेख भएको रोचक घटना, परिवेश र उदाहरणहरू पनि प्रस्तुत गर्दै डा. नेपालले पुस्तक ध्वनी, ब्यञ्जना, रस आदि सबैको उचित संयोजन भएको उल्लेख गरे । उनले उत्कृष्ट लेखन रहेको पुस्तक ‘करुणा’ लेखकको हृदय र मष्तिस्कको संयोजनबाट जन्मिएको बताए ।
केपी ओली प्रधानमन्त्री भएकै कारण शाक्यमाथि बेला बेला नकारात्मक कुरा गर्ने गरिएको भएपनि शाक्य आफैंमा अब्बल रहेको बताउँदै डा. नेपालले पुस्तकमा शाक्यका जीवनका भोगाइ भेटिने बताए ।
यस्तै वरिष्ठ पत्रकार बबिता बस्नेतले पुस्तकमाथि टिप्पणी गर्दै प्रथम महिला शाक्यको जीवन सबैका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताइन् । उनले लेखक शाक्यको यो पुस्तक पढ्दा कतिपय ठाउँमा अनायास आँसु आउने बताइन् । ‘लेखन सरल छ, तर अत्यन्त मिठासपूर्ण पनि छ,’ बस्नेतले बताइन् । पुस्तक पढ्दा यसको नाम ‘कल्पवृक्ष’ राख्न पाएको भए पनि हुने भनेर आफूलाई लागेको उल्लेख गर्दै शाक्यको आगामी कृति कविता संग्रहको रूपमा आओस् भन्ने आग्रह गरिन् ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न मिडियाका सम्पादकहरू उपस्थित रहेका थिए । कार्यक्रम प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले संचालन गरेका थिए ।