२०८२ वैशाख ३१ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ वैशाख ३१ गते बुधवार
Ads

४० जनाले गरे सगरमाथा आरोहण

मध्यान्ह
२०८२ वैशाख ३१ गते १६:३१
४० जनाले गरे सगरमाथा आरोहण

काठमाडौं : यस वर्षको सर्वोच्च शिखर सगरमाथापको व्यावसायिक आरोहण बुधबारबाट सुरु भएको छ । खराब मौसमको सामना गर्दै बुधबार कम्तीमा ४० जना स्वदेशी तथा विदेशी आरोही सगरमाथाको शिखरमा पुगेका छन् ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार तीन वटा फरक–फरक कम्पनीका ४० जना आरोही बुधबार बिहान विश्वकै अग्लो शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

यस पटकको आरोहण सिजनका लागि सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म ऐटके एक्सपिडिसनमा कार्यरत ७ जना नेपाली माउन्टेन गाइडले डोरी टाँगेर बाटो बनाउने काम शुक्रबार सम्पन्न गरेका थिए ।

निर्देशक गौतमका अनुसार शुक्रबार चुचुरोसम्मका लागि माउन्टेन गाइडहरूले बाटो खोलेपछि यस पटकको सिजनका लागि बुधबारदेखि आरोहण सुरु भएको हो ।

बुधबार सगरमाथाको चुचुरोमा पुग्नेमा ८ जना चिनियाँ, ६ जना युक्रेनी, २ जना चेक गणराज्यका, १ जना अमेरिकी र १ जना जापानी आरोही छन् । उनीहरूलाई आरोहणमा सहयोग गर्ने २२ जना नेपाली गाइड तथा शेर्पाहरूले पनि सगरमाथामा सफल आरोहण गरेको विभागले जनाएको छ ।

आइतबारसम्म सगरमाथासहित २६ वटा हिमाल आरोहणका लागि विभागले १ सय १९ वटा आरोहण दललाई अनुमति जारी गरिसकेको छ । जसमा २ सय ४० महिला र ८ सय ८७ पुरुष गरी नेपालसहित ५७ देशका ११ सय २७ जना सहभागी छन् ।

यीमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ४५ वटा आरोहण दलले अनुमति पाएका छन् । जसमा ८४ महिला र ३ सय ७२ पुरुष गरी ४ सय ५६ जना छन् । त्यसै गरी सगरमाथासँगै रहेको ल्होत्से हिमाल आरोहणका लागि १ सय ७ र नुप्से हिमालका लागि ७६ जनाले अनुमति पाएका छन् । यी तीन वटै हिमाल आरोहण गर्न अनुमति लिने आरोहीहरू र तिनीहरूका सहयोगीहरूसहित हाल सगरमाथा आधार शिविरमा कम्तीमा १ हजार स्वदेशी तथा विदेशी रहेका विभागले जनाएको छ ।

विभागले सबै हिमाल आरोहण अनुमति जारी गर्दै ७७ करोड ३५ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ ।

यसैबीच, यस पटकको आरोहण सिजनमा तीन जना विदेशी आरोहीको मृत्यु भएको छ भने २ जना नेपाली गाइड हराइरहेका छन् । हालसम्म कञ्चनजङ्घा, मकालु र आमादब्लम हिमालमा तीन विदेशी आरोहीको मृत्यु भएको छ भने अन्नपूर्ण हिमालमा २ जना नेपाली शेर्पा हराइरहेका छन् ।
 

ADV

सम्बन्धित खबर