काठमाडौं : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औं जयन्ती आज सोमबार मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिन्छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौं कालजयी सन्देशका वाहक गौतम बुद्धको २५६९औं जयन्ती शान्तिको कामना गर्दै देशभर मनाउन लागिएको हो ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आमसर्वसाधारणलाई बेलुकी घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
यसै अवसरमा लुम्बिनी विकास कोषले २८ देखि ३० वैशाखसम्म रुपन्देही, कपिलवस्तु र नवलपरासीमा विविध कार्यक्रमको आयोजना गरेको छ ।
कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजयन्ती राष्ट्रिय गौरवको इतिहास बोकेको उत्सव भएकाले यसलाई ऐतिहासिक उत्सवका रूपमा मनाउन लागिएको जानकारी दिए ।
लुम्बिनीबाट विश्वलाई शान्तिको सन्देश फैलाउन लुम्बिनी विकास कोषले यो वर्षको बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय सहभागिता, धार्मिक चेतना, संस्कृति संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ ।