काठमाडौं : साउदी अरेबियाको किङ खालिद विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार जेद्दास्थित नेपाली महावाणिज्य दूतावासबाट आएका ५ सदस्यीय प्रतिनिधिमण्डलले विश्वविद्यालय परिसरमा नेपाली विद्यार्थीहरूसँग भेटघाट गरी उनीहरूको अवस्था र समस्याका बारेमा जानकारी लिएको हो ।
प्रतिनिधिमण्डलका सदस्यहरूले विद्यार्थीहरूको शैक्षिक यात्रा, बसोबास, विश्वविद्यालय प्रवेश प्रक्रियामा भोग्नुपरेका कठिनाइ, साउदी अरेबिया आगमनको क्रममा देखिने चुनौतीहरू र उपलब्ध सुविधाहरूको बारेमा गहिरो चासो व्यक्त गरेका थिए ।
साथै, उनीहरूले नेपाली विद्यार्थीहरूलाई अझ आत्मविश्वासका साथ अघि बढ्न प्रोत्साहन गर्नुका साथै विश्वविद्यालयको व्यवस्थापन, अध्यापन पद्धति तथा अतिथि सत्कारप्रति प्रशंसा गरे ।
सो अवसरमा नेपाली विद्यार्थीहरू बसोबास गर्ने छात्रावासका निर्देशकको पनि उपस्थिति रहेको थियो । दूतावास प्रतिनिधिहरूले छात्रावास व्यवस्थापनसँग प्रत्यक्ष संवाद गर्दै विद्यार्थीहरूको जीवनस्तरमा थप सुधार ल्याउन सकिने विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा विश्वविद्यालय र दूतावासबीच आपसी समझदारी, सहकार्य र नियमित सम्पर्क कायम गर्दै नेपाली विद्यार्थीहरूको हितमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सो अवसरमा विश्वविद्यालयमा अध्ययनरत ३ नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो । अरबी भाषा डिप्लोमा सफलतापूर्वक पूरा गरेकाले उनीहरूलाई दूतावास प्रतिनिधिहरूसमक्ष सम्मान गरिएको त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीले मध्यान्हलाई जानकारी दिए ।