रुपन्देही : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रका प्रतिनिधिहरूले धर्ना दिएका छन् ।
लामो समयदेखि विमानस्थल पूर्णक्षमतामा संचालनको माग गरिरहेका उद्योगी–व्यसायीले माग सुनुवाई नभएपछि बुधबार विरोध सभासहित धर्ना दिएका हुन् ।
प्रदर्शनमा सहभागीले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन यसअघि गरिएका वाचा पूरा गर्न सरकारसँग उनीरूले माग गरेका छन् । दबाबमूलक धर्ना कार्यक्रमको बेवास्ता नगर्न र अर्बौं लगानी जोखिममा पर्दा राज्यले नदेखेजस्तै गर्नु विडम्बना रहेको उनीहरूको भनाइ छ ।
रुपन्देहीका उद्योगी–व्यावसायीले एक वर्ष अघि पनि दबाबपूर्ण कार्यक्रम सञ्चालन गरेका थिए । सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)का अनुसार त्यसबेला १५ दिन विमानस्थल बाहिर धर्ना दिइएको थियो ।
त्यतिलेमात्र दबाब नपुगेपछि व्यवसायीको प्रतिनिधिमण्डले काठमाडौंसम्म पुगेर सरोकारवाला मन्त्रीलाई दबाब दिएका थिए ।
विमानस्थल सञ्चालनका लागि मुलुकका सबै राजनीतिक दलका प्रमुख, पूर्व र वर्तमान प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाई नभएपछि दबाबपूर्ण आन्दोलनमा उत्रिनुपरेको उद्योग व्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्श)को अगुवाईमा बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म विमानस्थलको मुख्य प्रवेशद्वार छेकेर धर्ना र प्रदर्शन गरेको हो ।
धर्नामा दर्जनौं संघसंस्थाहरू ब्यानरसहित सहभागी छन् । सहभागीले विमानस्थल संचालनको माग लेखिएका प्लेकार्ड समेत बोकेर धर्ना दिएको उद्योग–व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।
अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार छेकेर उनीहरूले ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले विमानस्थल सञ्चालनका लागि आवश्यक म्यानपावर, भीसा र मेडिकल सेन्टर तत्काल खोल्न माग गरेका छन् ।
चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले विमानस्थल के कारणले ठप्प भइरहेको छ भन्नेबारे सरकारले जानकारी दिनुपर्ने बताए । ‘यो चर्को घाममा सडकमा दबाब कार्यक्रम गर्ने हाम्रो पनि रहर होइन, सरकारले हाम्रो माग सुनेन, व्यवसायी ऋणमा डुबेको देखेन, त्यसैले बाध्य भएर संघर्षका कार्यक्रम गर्नु परेको हो’ उनले भने ।
रुपन्देहीको निजी क्षेत्रले लगातार विमानस्थल नियमित सञ्चालनको माग गरे पनि सरकारले नसुनेको उनले दुखेसो गरे ।