साइप्रस : साइप्रसमा रहेका नेपाली तथा किराँती समुदायले उभौली पर्व मनाउने भएका छन् । आगामी मे ११ तारिखमा लिमासोल-निकोसिया हाइवे अवस्थित ट्रिकिस प्यालेस हलमा एक सांस्कृतिक कार्यक्रम गरी उक्त पर्व मनाउने भएका हुन् ।
कार्यक्रम किरात राई यायोक्खा साइप्रसले आयोजना गर्न लागेको हो । उभौलीको अवसरमा आयोजना हुन लागेको "साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम" को तयारी भइरहेको संस्थाका अध्यक्ष नविन राईले जानकारी दिए । कार्यक्रममा मौलिक र सांस्कृतिक झाँकी प्रस्तुत गरिने उनले बताए ।
कार्यक्रममा किराँती संस्कृतिअनुसार ढोल झ्याम्टा बजाउदै साकेला शिली नाँच प्रस्तुत गरिनुका साथै मौलिक खानाका परिकारसमेतको अनुभव लिन सकिने अध्यक्ष राईले बताए ।
साथै, स्थापित विभिन्न कलाकारले आफ्नो सांगीतिक प्रस्तुति दिने तयारी रहेको आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन साइप्रसका सबै मुख्य सहरबाट बसको व्यवस्था गरिएको छ ।
"संस्कार र संस्कृति हाम्रो पहिचान, बाँचौ र बचाऔं हाम्रो अभियान " भन्ने उद्देशले सन् २०१७ मा साइप्रसमा स्थापित यस संस्थाले हरेक वर्ष कार्यक्रम गर्दै उभौली पर्व मनाउदै आएको छ ।