रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका-१० स्थित चेतनगर बजारबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले लागुऔषध ट्रामाडोलसहित मौलापुर नगरपालिकाका २९ वर्षीय जितेन्द्र साहलाई पक्राउ गरेको हो । साहले चेतनगरमा फार्मेसी संचालन गर्दै आएका छन् ।
साहले चिकित्सा व्यवसायको नाममा लामो समयदेखि लुकिछिपी लागुऔषधको कारोबार गर्दै आएको बताइएको छ । गोप्य सूचनाका आधारमा प्रहरी सादा पोशाकमा गएर साहको फार्मेसीमा छापा मारेको थियो । छापाका क्रममा साहको फार्मेसीबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोलका ४ हजार ५ सय वटा ट्याब्लेट बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
अनुसन्धानका क्रममा साहले बागमती, चन्द्रनिगाहपुर र वरपरका क्षेत्रका युवाहरूलाई नियमित रूपमा लागुऔषध उपलब्ध गराउँदै आएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ । लागुऔषध कारोबारमा संलग्न सहविरुद्ध कारबाही अघि बढाइने र यस किसिमका अवैध कार्यविरुद्ध कडा निगरानी गरिने इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए ।