– अच्युतप्रसाद पौडेल ‘चिन्तन’
विकृतिको पोको बोकेर लोकतन्त्र बसेको छ हाम्रो देशमा । कुनै सूचकहरू सकारात्मक देखिँदैनन् । संसद्को हिउँदे अधिवेशन अन्त्य भइसक्दा न निजामती विधेयक वा शैक्षिक विधेयक नै पास गरियो बरु पेलपाल गरेर अध्यादेश पास गरियो ।
प्रतिस्थापन विधेयकहरू जबरजस्त पास गर्नासाथ पसल बन्द गरेजस्तै गरी संसद् बन्द गरियो । आमनेपालीहरूका आकांक्षाहरूमा डण्डा वर्षा गराउने नेतृत्व अहिले नानाथरिको गालीगलौजमा उत्रेको छ भने संघीयताको वास्तविक रूप सिंहदरबार र काठमाडौं महानगरको दुरीले स्पष्ट पारेको छ ।
कर्मचारी नपठाउने र भएको कर्मचारीसँग विवाद गरिरहने, कर्मचारीको कोठा बन्द गर्ने, जुलुस लिएर कोठा खोल्नुपर्ने, हाजिर कापीमा हाजिर गर्न नपाउने असुविधाहरू पनि छन् देशमा । ढोका फोरेर कर्मचारीले सिट लिनुपर्ने यो गणतन्त्र रहेसम्म सर्वथा निजामती सेवा पंगु नै भइरहने हो । यति कष्टकर समय सायद इतिहासमा थिएन पहिले ।
यी पंक्ति तयार गरिरहँदा देशभरिका शिक्षकहरू काठमाडौं ओइरिएका छन्, सडकमा पोखिएका छन्, अनिश्चितकालीन सडक प्रदर्शन भन्दै छन् । यो क्रम नयाँ होइन, विगत एक सालअघिको गति पनि यही थियो । इतिहासमा पहिलो पटक ७ असारमा एसईईको नतिजा प्रकाशन गर्ने अगाडि नै दिन तोकिएको छ । पहिले–पहिले दिन नतोकिए पनि असारको पहिलो सातामा परिणाम आइसक्थ्यो ।
हिजोआज शिक्षकहरूले कुनै परीक्षाको कापी नकाट्ने भनिँदै छ, यसअघि पारिश्रमिक वृद्धि नगरे कापी परीक्षण नगर्ने भनिएको थियो । विद्यालयमा अहिले मात्र होइन, धेरै वर्षदेखि नै शिक्षा वा विद्याको विक्री हुन्न, वस्तुको विक्री हुन्छ ।
वैशाख लाग्न नपाई अभिभावकहरूको कम्मर भाँचिनेगरी स्कुले सन्तानको बिल आउँछ, कतैबाट नियन्त्रण छैन, लूट नै छ । पालिकाहरूलाई झन् राम्रो भएको छ अहिले विद्यालयहरूबाट खादा, माला लाउन पाइने, चुँ बोल्न नपर्ने आफ्नै भाइ–भतिजाहरूले चलाएका स्कुल भनेर ।
लोकतन्त्र आएसँगै हरक्षेत्रमा परिवारवाद हाबी भएको छ । उद्योग, कलकारखाना त ध्वस्तप्रायः नै छन्, व्यापारीहरू राजनीतिको ओढ्ने ओढेर व्यापार गर्छन्, बजार मनपरी छ ।
उपभोक्ता हित संरक्षण कानुन आफैं बोल्दैन । अब त देखाउनैका लागि भए पनि काठमाडौं उपत्यका सीमित उपभोक्ता अदालत पनि आइसकेको छ । खानामा विषादी, मन, वचन, कर्ममा अशुद्धता, बोली एक, कर्म अर्कै लोकतन्त्रको सुन्दरता भएको छ ।
तीनकुने घटनामा के–कस्तो भयो, सरकारको कति तयारी रहेछ, खुल्दै छ । बिस्तारै फुटेजहरू बाहिर आउन थालेका छन् । आवश्यक पर्दा यन्त्र र षड्यन्त्र चलाउन कोहीभन्दा कोही कम छैनन् । अभ्यस्त भएकाहरूलाई त यी काम सामान्य नै भइहाले ।
देशको आर्थिक अवस्था दुरुह छ । नाना, खाना, छानाका लागि नेपालीहरू दिन पर दिन घर छाड्दै छन्, खाडी पस्दै छन् र नसक्नेहरू लासमा फर्कंदै पनि छन् ।
गाउँ रित्तो, शहर बेरोजगार, सामाजिक विकृतिले देश लथालिंग छ । पूर्वाधारहरू गतिला बनेनन् । भएका पनि असार नलाग्दै ढल्ने, गल्ने गरेका छन् । धारामा पानी नआउने, हजारौं नदीनाला खेर जाने, बिजुली अरू देशबाट आयात गरिने, खाद्यान्नको कोटा अरूले
तोकिदिनुपर्ने, उच्च व्यापारघाटा र उच्च ऋण, उच्च प्रदूषणमै परेको छ देश ।
संसारमा धेरै सरकार हुने देश पनि यही भएको छ र सरकारले सर्भिस डेलिभरी गर्नु भन्दा पनि कर कलेक्सन गरेर आफन्तलाई पोस्नु उत्तम मानेको छ । अस्थिर राजनीति र अस्थिर सरकारको पहिलो नमुना देश बनेको छ नेपाल ।
यहाँ कसैले रोजगारी पाउँदैनन्, पाउने रोजगारी भनेको राजनीतिक रोजगारी मात्र हो । नेता उत्पादन गरी देशलाई सुख्खाराम बनाउने थलो बनेको छ नेपाली भूमि र विदेशीहरूका लागि फूलबारी बनेको छ ।
हाम्रा नेताहरू सयौं वर्षअघिका नेताहरूका फोटो ढोग्छन् र तिनकै नाममा राजनीति गर्छन्, जबकि ती फोटोले यो देशलाई देखेका पनि थिएनन् होला । देश बनाउनेहरूलाई दुत्कार्ने गरिन्छ, अवहेलना गरिन्छ, इतिहासको विरासत के हो, थाहा छैन ।
धर्म, संस्कृति र संस्कारलाई त्यागेर हावामा मौलिक महलको कल्पना गरिँदै छ । आर्थिक विकास दर धीमा छ, चालू खर्च धान्नै नसकिने र विकास खर्च धेरै कम अनि विदेशी लगानी र अनुदान, सहयोग घट्दो छ, उत्पादन आफ्नो नहुँदा व्यापारघाटा बढ्दै छ ।
प्रशासनिक संयन्त्रहरू अनगिन्ती छन्, समन्वयको अभाव छ, सबैजसो छाडा छन्, एकताको अभाव छ । टोलटोलमै राजपत्र प्रकाशन गर्ने ध्याउन्नमा पालिकाहरू लागेका छन् । स्थानीय कच्चा पदार्थ, सीप, श्रम, लगानी प्रयोग गरेर आत्मनिर्भरतातिर उन्मुख हुनु भन्दा पनि परनिर्भरताको बाटो अँगालिरहेको अवस्था छ ।
नेपालमा हुने भनेको घरेलु, साना उद्योग हो, हस्तकला, जडीबुटी, निकासीका सामग्री हुन् तर देशमा लगानीको वातावरण नै छैन, साना उद्यमी, लगानीकर्ताहरू हतोत्साहित भएका छन्, उद्योग छाडेर छिटो कमाऊ धन्दा व्यापारतिर नै लागेका छन् र सकेसम्म सेटिङ मिलाउन राजनीतिमै पस्ने दाउमा छन् ।
देशमा शान्ति सुरक्षाको पनि अवस्था दयनीय नै छ । आन्दोलनको आह्वान हुँदा जति भीडको आँकलन गरिन्छ, त्यही संख्यामा सुरक्षाकर्मी राख्दा पनि शान्ति स्थापित भएको अवस्था छैन ।
नेताहरूका नाममा उग्र विरोधका नाराहरू लागेका छन् सडकमा तर पनि नेताहरूको सच्चिनेतिर ध्यान गएको देखिँदैन । सेवा सुविधा बढाउनैतिर र कमाऊ धन्दामै लागेका छन् ।
देशको विषम आर्थिक परिवेशमा खर्च कटौती गरेर आमनेपालीको हित हेरौं न त भन्नेहरूको यहाँ ज्यादै कमी भएको छ । नेता आफू बने, देश भने बनेन । खर्चालु गणतन्त्र, खर्चालु संघीयता र लोकतन्त्र देशका लागि अभिशाप भइरहेको छ ।