२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

प्रधानमन्त्रीको चीन भ्रमण : बीआरआई संशोधनसहित ६ परियोजना प्रस्ताव गर्ने

निमिष झा
२०८१ मंसिर १६ गते ०६:४५
प्रधानमन्त्रीको चीन भ्रमण : बीआरआई संशोधनसहित ६ परियोजना प्रस्ताव गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले चीनको महत्त्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको ढाँचामा संशोधनसहित ६ वटा पूर्वाधार परियोजना निर्माणका लागि प्रस्ताव गर्ने भएको छ ।

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले बीआरआई परियोजनाको सहकार्यको ढाँचा सम्झौता संशोधनमा सहमति गरेपछि नेपालले सोहीअनुसार प्रधानमन्त्री ओलीको भ्रमणमा प्रस्ताव गर्ने भएको हो ।

यस्तै, २ दलीय कार्यदलले सहमति गरेको ‘बीआरआई सहकार्य फ्रेमवर्क’मार्फत चीनलाई ६ वटा पूर्वाधार परियोजना निर्माणका लागि प्रस्ताव गर्ने सहमति भएको हो । कार्यदलले पूर्वाधार, खेलकुद र शहरी विकास गरी ६ वटा परियोजनाका लागि प्रस्ताव गरेको हो । उक्त सबै परियोजना नेपालले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चीनलाई अनुदानमा निर्माणका लागि आग्रह गर्ने छ ।

काठमाडौं र बेइजिङले शुक्रबार प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेपछि सत्ता घटकका २ दलले बीआरआई परियोजनाको सहकार्यको ढाँचा सम्झौताको संशोधित मस्यौदालाई अन्तिम रूप दिएका हुन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन् । ओलीले चिनियाँ समकक्षी लीसँग द्विपक्षीय वार्ताका क्रममा काठमाडौंमा २ सत्तारूढ दलबीच भएको सम्झौताको मस्यौदाका विषयमा छलफल गर्ने कार्यदलका एक सदस्यले बताए ।

नेपाल र चीनबीच बीआरआईमा सहयोगका लागि ढाँचामा हस्ताक्षर गर्नु प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य एजेन्डा हो । यस ढाँचालाई यसअघि सन् २०२० मा चिनियाँ पक्षबाट बीआरआईको कार्यान्वयन योजनाको रूपमा प्रस्ताव गरिएको थियो ।

योजनालाई परिमार्जन गर्न कांग्रेस र एमालेले बनाएको २ दलीय संयुक्त कार्यदलले यसलाई ‘बीआरआई सहयोगको रूपरेखा’ भनेर नामकरण गरेको छ ।

एक हप्तासम्म अन्तरिक गृहकार्यपछि सत्ता गठबन्धनका प्रमुख साझेदारहरूले नयाँ मस्यौदामा समझदारीमा पुगेका हुन् । बीआरआई फ्रेमवर्कअन्तर्गत प्रस्तावित परियोजनामा नेपालले अनुदान मात्र लिने २ दलको साझा धारणा छ । २ दल नै बीआरआईअन्तर्गतका परियोजनामा ऋण नलिने नीतिमा सहमत छन् । २ दलको साझा धारणालाई सरकारको धारणाकै रूपमा अघि बढाइने छ ।

काठमाडौंमा २ दलबीच ढाँचामा सहमति हुनासाथ चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकारको प्रस्ताव र मोडलबारे चिनियाँ अधिकारीसँग छलफल गरेकी थिइन् ।

शुक्रबार चिनियाँ समकक्षी वाङ यीसँग भएको भेटमा पनि परराष्ट्रमन्त्री राणाले त्यही प्रस्ताव अघि सारेकी थिइन् । राणाको प्रस्तावमा चिनियाँ विदेशमन्त्री यीले यस विषयमा बेइजिङमा उच्च तहमा छलफल गरेर मात्र जबाफ दिने बताएका स्रोतले जनायो ।

२ परराष्ट्रमन्त्रीबीच प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजनाका विषयमा समेत छलफल भएको छ । 

शनिबार चीतबाट फर्केकी मन्त्री राणाले बीआरआई सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ । हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ । यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुने छ ।’

तर, उनले २ दलीय कार्यदलले गरेको प्रस्तावका विषयमा चिनियाँ विदेशमन्त्रीसँग भएको कुराकानीका विषयमा केही बताइनन् ।

अब बीआरआई ढाँचाको टुंगो बेइजिङमा २ देशका प्रधानमन्त्रीबीच मंगलबार हुने द्विपक्षीय वार्तामा नै लाग्ने छ । नेपाली पक्षले तयार पारेको मस्यौदामा बेइजिङले सहमति जनाए मंगलबार २ देशबीच पत्रमा हस्ताक्षर हुने सम्भावना छ ।

२ दलले तयार पारेको मस्यौदामा नेपालले अनुदान मात्र स्वीकार गर्ने र त्यो पनि नेपालका लागि आवश्यक र राष्ट्रिय आवश्यकतामा निहीत हुने उल्लेख छ ।

मन्त्री राणाले अहिले नेपाल ऋण लिने अवस्थामा नरहेकाले  चीन सरकारसँग यसै विषयमा छलफल भएको बताइन् । ‘यो परियोजना अनुदानमा कार्यान्वयन गर्न कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ । यो सत्ता साझेदार दल एमालेलाई जानकारीमा छ । अनुदानमा नै यो परियोजना कार्यान्वयन गर्न हामीले छलफल गरिरहेका छौं’, उनले भनिन् ।

नेपालको प्रस्ताव चीनले स्वीकार गरे भू–राजनीतिक दबाबका कारण यो परियोजना अघि बढ्ने सम्भावना बनेको कांग्रेसका एक नेताले बताए । प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना र व्यापारमा सीमित भएर सम्झौता हुने छ ।

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले कांग्रेस र अनौपचारिक तहमा चिनियाँ पक्षसँग समानान्तर छलफल गरेर साझा धारणा बनाएकाले सम्झौतामा हस्ताक्षर हुने निश्चित जस्तै छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले बीआरआई फ्रेमवर्कसहित सम्पर्क संजाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनियाँ पक्षसँग छलफल हुने बताए ।

नेपालको प्रस्तावित परियोजना :

जलविद्युत् आयोजना
ट्रान्समिसन लाइन
नेपाल–चीन औद्योगिकमैत्री उद्यान
झापामा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स
मदन भण्डारी विश्वविद्यालय 
काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम
 

ADV

सम्बन्धित खबर