–शम्भू कट्टेल
सामुदायिक विकासमा लागेका, विकेन्द्रीकरणमा विश्वास गर्ने, स्थानीय समुदायलाई आफ्नो समुदायको ज्ञाता र हकदार मान्नेलगायतका विकासविद्हरू विकास कार्यहरूको केन्द्रबिन्दु समुदायलाई बनाउनु पर्ने धारणा राख्दछन् । राज्यको केन्द्रीय योजनाको अवधारणासँग बिमति राख्ने तर, निजी क्षेत्रको एकाधिकार पनि स्वीकार नगर्नेहरू पनि सामुदायिक सर्वोच्चतालाई विकल्पको रूपमा देख्दछन् ।
मार्क्सवादीहरू पनि तात्कालिकरूपमा प्रतिगामी राज्य प्रणालीको र वैदेशिक शोषणहरूको पन्जाको प्रतिकार गर्ने शक्तिको रूपमा स्थानीय समुदाय स्तरबाटै साझा सहकारी उत्पादन र अन्य सामुदायिक व्यवस्थापनको पद्धति विकास गर्नुपर्ने दिशामा सोंच्दछन् । उनीहरू यसलाई जनताको संयुक्त सत्ताको प्रारम्भिक इकाइको रूपमा हेर्दछन् । यो सत्ताको विस्तार भएर केन्द्रीय सत्ता निर्माण हुने र ती स्थानीय साझा सहकारीहरूले स्थानीय समाजवादी सत्ताको भूमिका खेल्ने भएकाले ती स्थानीय समाजवादी इकाइहरूको विस्तारित केन्द्रीय रूप केन्द्रीय समाजवादी हुने र केन्द्रको राज्यशक्तिको आडमा स्थानीय समाजवादी इकाइहरूले समुदाय बाहिरबाट हुने शोषणहरूको विरुद्ध काम गर्ने वातावरण पाउने कुरामा साम्यवादी अवधारणा बुझेका मार्क्सवादीहरू विश्वस्त हुन्छन् । कार्लमार्क्सले समाजवादी चरणको विकसित रूप शोषणबिहीन, वर्गविहीन, स्वचालित (राज्यविहीन सामर्थ्यवान समुदाय हो र यही नै साम्यवाद हो भन्ने मान्दछन् ।
स्थानीय समुदायलाई सार्वभौम इकाई मान्ने अवधारणा वैज्ञानिक छ । समुदायहरूले समाजको मुहार देखाउँछन्, यसमा समाजको अर्थ–राजनीतिक र सामाजिक–सांस्कृतिक संरचनाको प्रतिबिम्ब हुन्छ तापनि यसमा जनवादी भावना बलियो हुने र ‘सर्वजन हिताय, सर्वजन सुखाय’को मानवोचित समतामुखी (साम्यवादी) भावना शक्तिशाली हुनाले समाजलाई दिशा दिने र बाह्य आर्थिक–सांस्कृतिक अतिक्रमणहरूको प्रतिकार गर्ने क्षमता हुन्छ ।
इतिहासदेखि नै स्थानीय प्राकृतिक स्रोत साधनहरूको संरक्षण गर्ने, साहुकारहरू/बैंकहरू/सामन्त/पुँजीपतिहरू तथा समुच्च राज्यलाई आर्थिकरूपमा पाल्ने स्थानीय समुदायहरू नै हुन् (जसले अरुलाई पाल्छ, ऊ आफै सम्पन्न छ भन्न स्वतः नै सकिन्छ) ।
समुदायहरूबीचमा स्रोतहरूको न्यायोचित उपभोगको व्यवस्था मिलाउनको लागि केही समय मार्क्सवादी केन्द्रीय राज्यहरूले समन्वयात्मक भूमिका खेल्दछन् र स्थानीय सत्ताहरू जसरी इतिहासमा साना राज्यका रूपमा विकसित भएका थिए त्यसरी नै वर्ग उत्पत्ति हुने आर्थिक आधार हटेको स्थानीय स्वचालित समाजको रूपमा अघि बढ्दछन् ।
त्यसैले, यो तथ्यलाई मनन गरी सबै प्रगतिशील शक्तिहरूले अहिलेबाटै स्थानीय सामुदायिक सर्वोच्चतालाई ध्यानमा राखी स्थानीय संयुक्त जनसत्ताको रूपमा स्थानीय साझा सहकारी उत्पादन र सामुदायिक व्यवस्थापनको बाटोबाट अघि बढी पहिले जनवाद, त्यसपछि समाजवाद र अन्त्यमा साम्यवादी परिवर्तन सम्भव हुनेछ ।
(लेखक कट्टेल, वामपन्थी विचारक मानिन्छन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies