सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको मधुवन नगरपालिका वडा नं. १ पथ्थरबोझीमा सामुदायिक अन्न भण्डार भवनकोे शिलान्यास गरिएको छ । नगरपालिकाका प्रमुख तेज बहादुर भाटले बिहीबार भवनकोे शिलान्यास गरेका हुन् ।
मधुवन नगरपालिका, डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज, स्थानीय समुदाय, उज्यालो नेपाल, जर्मन कोअपरेसन, ग्लोबल नेचर फण्ड, आईयुसीएन., एनईडब्लुएस खाता सामुदायिक वन समन्वय समिति, मधुवन नगरपालिका वडा नं. ३ को समन्वय र सहकार्यमा सामुदायिक अन्न भण्डार भवनको निर्माण थालिएको हो ।
घरमा भण्डार गरी राखिएको अन्न जंगली जनावर तथा हात्तीले खाएर नोक्सान गरिदिने समस्यावाट आजित भएका स्थानीयहरुलाई अन्न सुरक्षित राख्न सामुदायिक अन्न भण्डार निर्माण गर्न लागिएको उज्यालो नेपालका रमेशकुमार थापाले जानकारी दिए । करिब १२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने अन्न भण्डारबाट १ सय ३० घरधुरी लाभान्वित हुने थापाले बताए ।
हरेक वर्ष हात्तीलगायतका जंगली जनावरले घरमा भण्डार गरेर राखेको अन्न खाइदिने समस्यावाट आजित भएका स्थानीयहरु सामुदायिक अन्न भण्डार निर्माण हुने भएपछि हर्षित भएका छन् । स्थानीय धनिराम थारुले भने, ‘बल्ल अब हामीले राखेको अन्न बच्ने भयो ।’
शिलान्यास कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख भाट, वरिष्ठ संरक्षण अधिकृत अशोककुमार राम, मधुवन नगरपालिका वडा नं. १ का अध्यक्ष मीन बहादुर थापा, नगर प्रवक्ता मेक बहादुर गुरुङ, नगर सल्लाहकार विजय ओली, उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपाने, उज्यालो नेपालका रमेशकुमार थापा, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक घनराज खत्री, हात्ती मेरो साथीका अध्यक्ष धनिराम थारु, अन्न भण्डार निर्माण समितिका अध्यक्ष भागीराम थारुलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies