सुर्य प्रसाद भुसाल/मध्यान्ह
पाल्पा : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकमा स्थिर सरकार नभएसम्म विकास निर्माणले तीव्रता लिन नसक्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख घिमिरेले स्थिर सरकार नहुँदा मुलुकलाई ठूलो असर परेको र विकासका कामहरुमा प्रभाव परेकाले सरकार स्थिर हुनुपर्ने बताएका हुन् ।
उनले भने, 'कुनै पनि राजनीतिक दलको बहुमत छैन । धेरै दल मिलेर सरकार बनाउनुपर्ने दलहरुलाई बाध्यता भएको छ । राजनीतिक दलका नेताहरुले आफू अनुकूल सरकार फेरबदल गरिरहँदा मुलुकमा समस्या उत्पन्न भएको छ ।'
सभामुख घिमिरेले अहिलेको निर्वाचन पद्धतिलाई परिवर्तन गर्नका लागि सोच्नुपर्ने बेला आएको समेत बताए । उनले भने, 'जुनसुकै दल होस्, बहुमत आउने पद्धतिको विकास हुन आवश्यक छ । संविधान र कानून संशोधन गरेर भए पनि निर्वाचन प्रणालीलाई सरल, सहज र स्वभाविक बनाउनुपर्छ ।'
समयअनुसार अब बजेट ल्याउनुपर्नेमा जोड दिँदै घिमिरेले परम्परागत ढंगबाट अब बजेट तथा कार्यक्रम ल्याउन नहुने तर्क गरे । सम्बन्धित विज्ञहरूको टिम निर्माण गरेपछि सोही टिमले दिएको सुझावको आधारमा बजेट ल्याउनसके मुलुकको अर्थतन्त्र प्रभावकारी र चलायमान हुने बताउँदै उनले तीनै तहका सरकारले बजेटका लागि अध्ययन गर्नुपर्ने सुझाव दिए ।
सभामुख घिमिरेले अन्तर व्यवस्थापिका मञ्च नेपाल गठन गरेर अगाडि बढ्ने तयारी गरिरहेको बताउँदै सभामुख घिमिरेले प्रतिनिधि सभाका सभामुख, उपसभामुख र राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, सातै प्रदेशका सभामुख, उपसभामुख अन्तर व्यवस्थापिका मञ्च नेपालमा संगठित हुने बताए । अब बन्ने मञ्चमा एक अर्कामा भएका अनुभव आदानप्रदान हुने उनले बताए । मुलुकमा भएका अस्थिरता र अन्योललाई हटाउँदै जिम्मेवारी निर्वाह गर्न संघ र प्रदेशका सभामुख, उपसभामुखको भूमिकालाई प्रभावकारी बनाउनका लागि सरकारले गरिरहेका गतिविधिलाई पनि व्यवस्थित गर्न यस मञ्चले सहयोग पुर्याउने सभामुख घिमिरेले विश्वास व्यक्त गरे ।
पाल्पाका ऐतिहासिक स्थानको महत्वलाई अवलोकन तथा प्रचारप्रसार गर्नुपर्ने उनले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण गर्नेगरी यहाँका संरचना बन्नुपर्ने उनले बताए । पाल्पाको तानसेनमा तीन दिनदेखि जारी अन्तर व्यवस्थापिका भेलाको उद्घाटन गर्न सभामुख घिमिरे पाल्पा आएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies