काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सकेसम्म म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जान र सेवा शुल्क अनिवार्यरुपमा बैंक खातामा भुक्तानी गर्न आग्रह गरेको छ । युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका देशहरुका आकर्षक रोजगारीको नाममा ठूलो ठगी भइरहेको भन्दै मन्त्रालयले उक्त आग्रह गरेको हो ।
वैदेशिक रोजगार विभाग ताहाचलमा दैनिक दर्जनौं व्यक्तिगत ठगीका उजुरी बढेका बेला सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विकसित मुलुकहरुमा आकर्षक वैदेशिक रोजगारीका नाममा पठाउने भन्दै शैक्षिक कन्सल्ट्यान्सीलगायत अनधिकृत व्यक्ति तथा समूहको ठगी व्यापक बढेको भन्दै उनीहरुको प्रलोभनमा नपर्नसमेत ध्यानाकर्षण गराएको छ ।
मन्त्रालयले सरकार–सरकारबीच सम्झौता भइ कार्यान्वयनमा रहेको जिटुजी प्रणाली, इजाजत प्राप्त संस्थाबाट आधिकारिक र कानूनी प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा पठाउने प्रणाली र व्यक्तिगत प्रयासमा सम्बन्धित देशको रोजगारदातासँग श्रम सम्झौता तथा भिसा प्राप्त गरी श्रम स्वीकृति लिएर जाने व्यवस्था गरेकोले सुरक्षितरुपमा मात्रै जान मन्त्रालयले आग्रह गरेको छ ।
ठगी समाधानका लागि आवश्यक सूचना, गुनासो एवम् उजुरीका लागि मन्त्रालयमा स्थापना गरिएको श्रमाधान कल सेन्टरमार्फत वा प्रत्यक्षरुपमा मन्त्रालय वा मन्त्रालय अन्तर्गतका निकायमा सम्पर्क गर्न सकिने पनि मन्त्रालयले बताएको छ । ठगीबाट बच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया शुरु गर्नु अगाडि म्यानपावर कम्पनीमार्फत प्रक्रिया अगाडि बढाउन, विदेश पठाउने संस्था इजाजतपत्र प्राप्त हो वा होइन र वैदेशिक रोजगारका लागि पूर्व स्वीकृति लिएको छ वा छैन विभागको वेबसाइटमार्फत एकिन गर्न ध्यानाकर्षण गराउँदै मन्त्रालयले प्रलोभनमा परी बिना प्रमाण तोकिएको शुल्कभन्दा बढी रकम नदिन तथा वैदेशिक रोजगार प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउन आग्रह गरेको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानून एवम् संस्थागत प्रवन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको भन्दै मन्त्रालयले त्यस कार्यमा आम सरोकारवालाहरुको उत्तिकै सक्रियता आवश्यक हुने बताएको छ। मन्त्रालयले वैदेशिक रोजगारीमा जान खोजेका युवायुवतीलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा रोजगारीको अवसर छ भनेर सामाजिक सञ्जालहरुमा भ्रामक सूचना प्रेषित गर्री भ्रम सिर्जना गरी ठगी गर्ने गरेको समेत पाइएको बताएको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ ले ठगी नियन्त्रणका लागि प्रभावकारी व्यवस्था गरेको भन्दै मन्त्रालयले उक्त ऐनको दफा ४३ विपरीत काम गरे हदैसम्म सजाय हुने बताएको छ । ऐनको दफा ४३ मा कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिइ वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा पठाइदिन्छु भनि कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जनाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराइ तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको विषयमा मन्त्रालयले सबैको ध्यानाकर्षण गराएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies