–बिदुर दाहाल
“आजभोलि बालबालिकाहरू भनेको पटक्कै मान्दैनन्”, बारम्बार यो गुनासो गरेको पाइन्छ । छोराछोरी मोबाइल चलाउन, मोबाइल÷कम्प्युटरमा गेम खेल्न र कार्टुन हेर्न मात्र खोज्दछन् । सामाजिकीकरण पटक्कै छैन । एक्लै कोठामा बस्ने र मोबाइलमा रमाउने उनीहरूको दिनचर्या हुन्छ । बाहिर हिँड्न अनि घरायसी काम सघाउन खोज्दैनन् । घरमा आएका परिचित वा नयाँ मानिससँग उनीहरू कुनै गफगाफ गर्दैनन् । स्कुलले छुट्टी दिँदा खुसी मनाउँछन् । स्कुलको गृहकार्यमा रुचि राख्दैनन् । शिक्षकहरूको आँखा छल्न सामाजिक सञ्जालमार्फत जान्ने साथीको सार्ने वा एपहरूको उत्तर जस्ताको तस्तै उतार्ने बानीको विकास भएको छ । अन्तरक्रियात्मक तथा तार्किक क्षमता कमजोर छ । सामाजिक अन्तरक्रिया गर्न रुचि नै राख्दैनन् । केटाकेटीहरूमा यस्तो प्रवृत्ति किन विकास भयो होला ?
बाल मनोविज्ञानको कोणबाट हेर्दा बालबालिकाको रुचिअनुसार सिकाइ भएन । विषयवस्तु रुचिकर भएनन् । पढाउने शिक्षक÷शिक्षिका र विद्यार्थीहरूको सोच्ने र बुझ्ने कुरामा फरक भयो । शिक्षण सिकाइ ‘पेडागोजी’ बालबालिकाको रुचिअनुसार भएन । पुरानै पारामा विषयवस्तु प्रस्तुत गरियो । सिकाएका विषयवस्तु व्यवहारिक र जीवनोपयोगी हुन सकेनन् । शिक्षकहरूले विद्यार्थीहरूलाई विषयवस्तुको भारी बोकाउन खोजे । कति सिकाउने ? कस्ता विषयवस्तु सिकाउने भन्ने कुराको ज्ञान भएन । विषयवस्तुको ठाडो र समतलीय तालमेल कमजोर छ । सिकाइ प्रक्रिया र सिकाइ प्रणाली दुवै ठिक भएनन् ! यसले गर्दा बालबालिकाहरूमा पढाइप्रति बेवास्ता बढ्यो ! पढाइप्रति रुचि भएन । अभिभावकहरू आफ्ना बालबालिकालाई शिक्षकले गृहकार्य नदिएकोले मोबाइलमा व्यस्त भए भनेर स्कुलमा पुग्ने गर्छन् । समस्या यसैमा छ । कति गृहकार्य हुनुपर्ने हो ? सीमा भएन ।
अर्कोतर्फ, सम्पन्न अभिभावकले आफ्ना बालबालिकाहरूलाई समय दिएनन् । अभाव केहो भन्ने कुरा बुझेनन् र बुझाउन खोजिएन । जो पायो त्यही मानिससँग बोलचाल नगर्नु, नराम्रा मानिस हुन्छन् भन्ने सिकाइयो । अरुसँग किन बोलचाल गर्नुप¥यो ? बोलचाल गर्नु आवश्यक छैन भन्ने सिकाइयो । अरुसँग बोलचाल गर्दा नराम्रो भाषा सिक्छन् । सडक बालबालिकाको जस्तो भाषा सिक्छन् भनेर बाहिरी मानिससँगको सामाजिकीकरण र अन्तरक्रियालाई बन्देज गरियो । बोलचाल गर्न नदिँदा अन्ततः सामाजिक अन्तरक्रिया कमजोर भयो, सामाजिकीकरण नै हुन सकेन । त्यसैले बालबालिकाहरूलाई दुःख–सुख, सम्पन्नता–अभाव, सभ्य भाषा–असभ्य भाषा सबै खालका कुरा सिकाउनु पर्छ । बल्ल ठिक र बेठिक पहिचान गर्ने क्षमताको विकास हुन्छ । यस्तो सिकाइ न परिवारले सिकायो न त विद्यालयले सिकायो ।
बालबालिकाहरूलाई बढी परनिर्भर बनाइयो । घरायसी काम लगायो भने पढाइ बिग्रन्छ । के नपुग्दो छ र बालबालिकाहरूलाई काम लगाउनु भन्ने पुरातन सोचले गर्दा बालबालिकाहरूले जीवनोपयोगी सीप सिकाइ गर्न सकेनन् । यो बुझाईको समस्या हो । अर्कोतिर, कमजोर आर्थिक हैसियत भएका अभिभावकले छोराछोरीलाई बढी काम लगाउँदा सिकाइमा समय दिन सकेनन् । आवश्यक कुराको जोहो गर्न नसक्दा उनीहरूलाई काममा बढी लगाइयो । धनि र सम्पन्नहरूसँग बोल्न जान्दैनौ त्यसैले उनीहरूसँग नबोल्नु भनियो । जसले सामाजिकीकरणको पाटो कमजोर बनायो । अभावले पढाइप्रति दिक्दारी बढायो । अन्ततः सिकाइ कमजोर भयो ।
पाठ्यक्रमले तोकेका विज्ञान र गणितका विषयवस्तुलाई सकेसम्म व्यवहारिकतासँग जोड्नुपर्छ । समाज र जीवनसँग जोडेर सिकाइ गर्दा सिकाइ व्यवहारिक हुन्छ । विषयवस्तुको शिक्षण गर्दा सधैँ उनीहरूको स्तर र क्षमताअनुसारका विषयवस्तु छनौट गर्नुपर्छ । पाठ्यपुस्तकका सैद्धान्तिक कुरालाई पनि व्यवहारिकतामा ढालेर सिकाउन सकिन्छ । त्यो क्षमता शिक्षकमा हुनुपर्छ । शिक्षण गर्दा सैद्धान्तिकता कम र व्यवहारिकता बढी हुनुपर्छ । यसको अर्थ जीवनोपयोगी कुरा सिकाउनु पर्छ । गृहकार्यको भारी बोकाउने चलन सुधार गरी सिर्जनात्मक गृहकार्य दिनुपर्छ । समयको महत्व, देशप्रतिको माया, सहयोगी भावना, व्यक्तिगत सरसफाइ, सरसफाइको महत्व, बुढाबुढी, गरिब–असहायप्रतिको राम्रो व्यवहार, सामाजिक विविधता, जातीय विविधता, लिङ्ग र लिङ्गीयता, जात–जाती, अनुशासन, नैतिकता, पढाईको महत्व, जीवनको महत्व, आत्मनिर्भरता, समस्या समाधान सीप, स्वस्थ बानी व्यवहार, असल आचरण, दुःख–सुख, गरिबी, अभाव, परिवारको हैसियत, परिवेश, संस्कार, देशको सामान्य नियम कानुन, प्रविधिको सदुपयोग, वातावरणीय कुरा आदि सिकाउनु पर्छ । बल्ल बालबालिकाहरूमा सकारात्मक भावनाको विकास हुन्छ । यो खालको व्यवहारिक सिकाइ नगर्दा बालबालिकाहरू अव्यवहारिक भए । त्यसैले सिकाइ र बुझाईमा नै समस्या भयो ।
जातीय विभेद, लिङ्गीय विभेद, वर्गीय विभेद, कुरीति, कुसंस्कार, अन्धविश्वास, अनावश्यक घमण्ड, भोक विलासी, कुलत, नकारात्मकता, हिंसा जस्ता कुरा सिकाउनु हुँदैन । त्यसका बेफाइदा र खराब पक्ष सिकाउनुपर्छ । त्यसबाट व्यक्ति र समाजमा पर्न जाने असरहरू बारे सचेत गराउनु पर्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा सिकाइ हो । घर परिवार बालबालिकाको पहिलो पाठशाला हो । सिकाइ त्यहीबाट शुरु हुन्छ । आमा पहिलो शिक्षिका हुन् । आमा शिक्षित हुँदा नै पूरै परिवार शिक्षित हुन्छ । कतिपय आमाहरू व्यवहारिकरूपमा पूर्ण भएपनि सैद्धान्तिक कुरामा पछि हुन सक्छन् । आफ्ना छोराछोरीलाई के सिकाउने ? के नसिकाउने ? कसरी सिकाउने ? भन्ने कुरा थाहा नहुन सक्छ । परिवारका अन्य सदस्यलाई पनि सिकाइबारे ज्ञान हुन÷नहुन सक्छ । शिक्षित परिवारमा जन्मेका बालबालिकालाई उनीहरूका अभिभावकले धेरै कुरा घरमा सिकाउन सक्छन् । यद्यपि, बाल–मनोविज्ञान अनुसार सिकाउनु पर्छ भन्ने कुरा चाहिँ थाहा हुन सक्छ÷नहुन सक्छ । त्यसो हुँदा शिक्षकको भूमिका बढी हुन्छ ।
स्कुल दोस्रो पाठशाला हो । जहाँ उसलाई शिक्षक–शिक्षिकाले व्यवहारिक र सैद्धान्तिक कुराहरू सिकाउँछन् । शिक्षकलाई बाल मनोविज्ञानको पूर्ण ज्ञान हुनुपर्छ । विषयवस्तुलाई विद्यार्थीको रुचिअनुसार सिकाउने कला हुनुपर्छ । समस्या यहीँनेर हो । धेरै शिक्षकले बालमनोविज्ञानको ख्याल गर्दैनन् । कतिपयले जानेर पनि ख्याल गर्दैनन् । कतिले नजानेर ख्याल गर्दैनन् । पाठ्यपुस्तक घोकाउने गर्छन् । विद्यार्थीलाई त्यो शिक्षण मन परिरहेको हुँदैन । शिक्षकको कर्कसपूर्ण र पट्यारलाग्दो भाषण मन पर्दैन । त्यही हुनाले विद्यार्थी कक्षामा हल्ला गर्छन् । त्यसो गर्न नपाए निदाउने गर्छन् । त्यसले कक्षा कोठाको सिकाइ निराशपूर्ण छ भन्ने संकेत गर्छ । सुधार्नु पर्ने पक्ष यहीँ छ ।
शिक्षकमा विशेष गुण र क्षमता हुनुपर्छ । खासगरी शिक्षक नमूना योग्य व्यक्ति हुनुपर्छ । व्यक्तिगत गुण, सामाजिक गुण र शैक्षिक गुणले भरिपूर्ण हुनुपर्छ । शिक्षक विद्यार्थीको मिल्ने साथी जस्तै हुनुपर्छ । अभिभावकले झै माया गर्ने हुनुपर्छ । विषयवस्तु सजिलोसँग रुचिपूर्ण तरिकाले सिकाउने विज्ञ हुनुपर्छ । विद्यार्थीको मनोविज्ञानअनुसार नहुँदा बालबालिका स्कुल जान खोज्दैनन् । स्कुल उनीहरूलाई सजाय दिने ठाउँ जस्तो भयो । शिक्षकलाई दण्ड दिने अधिकारीको रूपमा बुझे । जुन गलत छ । केटाकेटीलाई पढाउने होइन; सिकाउनु पर्छ । सिकाइ बाल केन्द्रित हुनुपर्छ । सिकाउँदै–गराउँदै, गराउँदै–सिकाउँदै गर्नुपर्नेमा त्यसो भएको छैन ।
बालबालिकालाई नचाउँदै, खेलाउँदै, स्वतन्त्रतापूर्वक सिक्न दिनुपर्छ । केटाकेटीलाई प्रकृतिमा रम्न दिनुपर्छ । प्रकृतिमा रमेर सिक्न दिनुपर्छ । सिकाइ भनेको विद्यालयको घेराभित्र सिकाएको÷घोकाएको कुरा मात्र हो भन्ने भ्रम हटाउनु पर्छ । बालबालिकालाई भाषा शुद्ध बोल्न सक्ने तथा लेख्न सक्ने, पढ्न सक्ने र सुन्न सक्न,सञ्चार गर्न सक्ने बनाए भएन र ? भाषाको काम लिखित र मौखिक सञ्चार गर्ने हो । कण्ठ गर्न र गराउन जरुरी छैन । चाहिएको ज्ञान र सीप विकास भए पुग्छ । साना बालबालिका गणित र विज्ञानका सामान्य कुरा व्यवहारिकरूपमा सिकाए पुग्छ । अनावश्यक बोझ र भारी बोकाउनु जरुरी छैन ।
सरकारले तालिम प्राप्त शिक्षकलाई कक्षा कोठामा पठाउनु पर्छ । बाल मनोविज्ञानको ज्ञान भएका र शिक्षा विषय पढेका व्यक्तिहरूलाई शिक्षक बनाउनु पर्छ । निजी स्कुलको रिजल्ट राम्रो भएता पनि बालबालिकाले जीवनोपयोगी सीप सिकेका छैनन् । निजी स्कुलको सिकाइ सुगा रटाइ जस्तो छ । यसलाई सुधार गर्नैपर्छ । निजी स्कुलमा पढ्ने बालबालिकालाई व्यवहारिक कुरा र जीवनोपयोगी कुरा झन् थाहा छैन । सरकारी स्कुलमा गरीबका छोराछोरी पढ्ने हुनाले अभिभावक कम सचेत छन् । सरकारी स्कुलका शिक्षक शिक्षक तुलनात्मकरूपमा दक्ष र क्षमतावान भएपनि अल्छी छन् । जागिर पकाउन शिक्षण गर्छन् । शिक्षकहरू राजनीतिबाट ग्रसित छन् । यसले गर्दा शिक्षण प्रभावकारी हुन सकेन । शिक्षण प्रक्रिया व्यवहारिक हुन सकेन । निम्न मध्यम वर्ग र शिक्षाको महत्व बुझेका अभिभावक स्कुलको कारण आफ्ना नानिबाबु सिकाइमा कमजोर भएको ठान्छन् । अङ्ग्रेजी बोल्न नजान्नुलाई ठूलो कमजोरी ठान्छन् । त्यसैले अभिभावहरू स्कुल राम्रो भएन, छोरा छोरी पढाउन कठिन भयो, नजिकैको सरकारी स्कुल राम्रो छैन । सकिनसकी बोर्डिङ पढाउनु पर्छ भन्ने मान्यता राख्छन् । जुन गलत छ ।
बच्चाले राम्रोसँग अङ्ग्रेजी बोल्न सिकेन, केवल नेपाली मात्र बोल्छलगायतका गुनासा गरेको पाइन्छ । वास्तवमा स्कुल निजी होस् वा सरकारी; उसले बालबालिकालाई जीवनोपयोगी र व्यवहारिक कुरा सिकाउनु पर्छ । कमजोर शिक्षक छन् भने पनि तालिम दिएर सक्षम बनाउनु पर्छ । मुख्य सबाल त्यो हो । केटाकेटीले केही जानेनन्, यिनीहरू सिक्दै सिक्दैनन्, विद्यार्थी लद्दु छन् भनेर शिक्षकले भनेको सुनिन्छ । कहीँ न कहीँ वंशाणु गुणले सिकाइमा फरक पारेको हुन सक्छ । तर वंशाणु गुणभन्दा वातावरणले सिकाइमा बढी प्रभाव पार्छ । नजान्ने र नसिक्ने भन्ने कुरा हुँदैन । वातावरण र परिवेशले फरक पार्छ । विद्यार्थी सिक्दै सिक्दैन भन्ने कुरा हुँदैन बरु सिकाएको मिलेन कि ? उचित वातावरण पाएन कि ?
यस्ता कुराले समस्या सिर्जना गरेको हुन सक्छ । सानो हुँदा कुटाइबाट वच्न पाठ घोकेको हो कि ? भाले बन्नु पर्ला, स्याल कराएर साथीहरूलाई मनोरञ्जन दिनुपर्ला वा कक्षामा पिरिएड भरी उभिनु पर्ला भनेर पढेको होकि ? त्यसो हो भने सिकाइ र बुझाईमा समस्या छ । माथिल्लो कक्षामा उद्देश्यात्मक सिकाइ हुन्छ । सिकारुलाई आफ्नो लक्ष्य र उद्देश्य थाहा हुन्छ । सिकारु स्व. उत्प्रेरित हुन्छ । तर तल्लो तहका बालबालिकालाई यस्तो कुरा थाहा नहुने हुँदा उत्प्रेरणा प्रदान गरेर सिकाइ गर्नुपर्छ । धेरै जसो नेपाली शिक्षकहरू किताब पढाउँछन्; व्यवहार सिकाउँदैनन् । त्यसले गर्दा बालबालिकाले न सीप सिके; न लेखपढ नै गर्न सिके, न व्यवहार सिके । वास्तवमा केही पनि सिकेनन् । बरु फोहोरी कुरा बोल्न सिके, झुट बोल्न सिके !
अन्तमा, वर्तमान सिकाइ प्रणालीमा कमजोरी छ । वातावरण निर्माणमा समस्या छ । शिक्षकलाई बाल–मनाविज्ञानको ज्ञान कम छ । विद्यार्थी केही जान्दैनन् भन्ने भ्रम छ । सिकाइ वातावरण निर्माणमा ध्यान कम छ । पाठ्यक्रमको उद्देश्य र पाठको उदेश्यबारे शिक्षक कम जानकार छन् । शिक्षकले मूल जिम्मेवारी बिर्सेको छन् । राजनीति, घरायसी काम र व्यापार–व्यवसाय मानौ उनीहरूको मूख्य जिम्मेवारी हो । शिक्षकले सिकाइका तौर तरिकाबारे खोज÷अनुसन्धान कहिल्यै गरेनन् । त्यो क्षमताका शिक्षक शिक्षण पेशामा प्रवेश गर्ने वातावरण बनेन, भएन । त्यो खालको वातावरण निर्माणमा राज्यले पहल गरेन । किताब पढाउनुलाई शिक्षकले आफ्नो जिम्मेवारी ठाने । उनीहरूले व्यवहार पढाएनन् । राज्यले पनि राम्रो काम गर्ने शिक्षकलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने प्रणाली विकास गरेन । विद्यार्थी मूल्यांकन प्रणाली गलत विकास भयो । व्यवहारलाई भन्दा प्रमाणपत्र र प्रतिशतलाई ठूलो ठानिँदा सिकाइ प्रभावकारी हुन सकेन । यी सबै काम गर्ने शिक्षकलाई जिम्मेवार बनाउन राज्यले सकेन । राज्य चुक्यो । राज्यको शैक्षिक प्रशासन चुक्यो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies