२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

पाँच मुक्तक

Nada
२०८१ असोज ५ गते ०६:२०
Shares
पाँच मुक्तक

–गणेश लोहनी

ncell

१.
निगाहमा बिना कैद भुक्तान छुट्न पनि पाइन्छ
विजयोत्सवसँगै प्रतिशोधमा कुट्न पनि पाइन्छ
नमिल्नेको ‘न’ मेटाउन खप्पिसकै छ हालीमुहाली
लाजै नमानी दर्जाअनुसार लुट्न पनि पाइन्छ ।।

२.
साथमा रहेकी प्रियसी बटारिँदा रुन्छ
केही हत्याउनलाई अरू हतारिँदा रुन्छ
सधैँ आफ्नो मात्र हित चिताउँछ मान्छे
रमाउँछ ऊ माथि पुग्दा पछारिँदा रुन्छ ।।

३.
पैतृक कमाइ खर्चन निमग्नहरूका कुरा नगर्नु
उनकै सिप र श्रमले सम्पन्नहरूका कुरा नगर्नु
नितान्तः आफू र आफ्नाका स्वार्थपूर्तिमै मस्त
पितृलाई नसम्झने कृतघ्नहरूका कुरा नगर्नु ।।

४.
सिद्धान्तको तिलाञ्जली व्यर्थै नाम जपिरहेका छन्
अपराध बोधको आगोमा समर्थक पो तपिरहेका छन्
बाख्राले बिराम गर्छ भेडाको कान काट्ने भनिन्थ्यो
अपराध अगुवाको सजाय जनता खपिरहेका छन् ।।

५.
सबैले पढ्ने इतिहासका गाता हौँ नबिर्सौँ
हरेक नयाँ पुस्ताका पिता–माता हौँ नबिर्सौँ
वर्तमानकै पदचिह्न पछ्याउने हो भविष्यले
सन्ततिका भविष्यका विधाता हौँ नबिर्सौँ ।।

सम्बन्धित खबर