२०८२ साउन ९ गते शुक्रवार / Jul 25 , 2025 , Friday
२०८२ साउन ९ गते शुक्रवार
Ads

विद्युत उत्पादन बढाउन सेवामा एकद्वार प्रणाली आवश्यक : इप्पान अध्यक्ष कार्की

shivam cement
मध्यान्ह
२०८१ भदौ २८ गते २०:०८
विद्युत उत्पादन बढाउन सेवामा एकद्वार प्रणाली आवश्यक : इप्पान अध्यक्ष कार्की

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटमा ऊर्जा र जलस्रोत विषयको छलफलमा बोल्दै अध्यक्ष कार्कीले २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्दा ४६ खर्ब रुपैयाँ लगानी चाहिने बताएका छन् । ‘२८ हजार मेगावाट उत्पादनको लागि ४६ खर्ब रुपैयाँ लगानी आवश्यक छ । यसमा बैंक, इन्स्योरेन्स र रिइन्स्योरेन्सका लागि धेरै ठूलो लगानीको अवसर हुनुका साथै सप्लायर्स, डिजाइनर, कन्सल्ट्यान्ट लगायतलाई पनि त्यतिकै ठूलो अवसर छ’, उनले भने ।

नेपालमा ऊर्जा पूर्वाधारको विकासका लागि सरकारले नीतिगत परिवर्तन गर्न अत्यावश्यक रहेको पनि उनले बताए । ‘अहिले हामी १४ मन्त्रालय र ४० भन्दा बढी विभागमा पुगेर बल्ल एउटा आयोजना पूरा गर्न सक्छौं, सरकारले २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ, २८ हजार मेगावाट उत्पादनको सपना पूरा गर्नको लागि एकद्वार प्रणालीमार्फत् काम हुने वातावरण बनाउनुपर्छ’, उनले भने । अहिले धेरै ठाउँमा विद्युत आयोजना सम्पन्न भएपनि प्रसारणलाइन नभएका कारण आयोजनाको विद्युत खेर गइरहेको पनि कार्कीले बताए । त्यसका लागि सरकारले निजी क्षेत्रलाई प्रसारणलाइन निर्माणको जिम्मा दिनुपर्ने उनको भनाइ छ । 

त्यस्तै, उनले नेपाली निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिए भारतीय र बंगलादेशी कम्पनीसँग सहज रुपमा डिल गरेर विद्युत बेच्न सक्ने भन्दै त्यसका लागि सरकारले नीति बनाइदिनुपर्ने बताए । कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नियामकीय ढाँचामार्फत् निजी क्षेत्रलाई सहजीकरण गर्ने बताए । त्यस्तै ह्वलिङ चार्ज, ओपन एक्सेस र प्रतिस्पर्धी बजारको लागि आयोगले काम गरिरहेको पनि अध्यक्ष धिताललको भनाइ थियो । नेपालमा विदेशी लगानीमा २१६ मेगावाटको आयोजना निर्माण गरिरहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत योङजिङ होङले नेपालमा धेरै निकायसँगका विभिन्न चरणमा धेरै चुनौतीहरु पार गर्दै आयोजना निर्माण भइरहेको बताए ।

एशियाली विकास बैंक (एडीबी) की ऊर्जा क्षेत्र अधिकृत सुजाता गुप्ताले नेपालको प्रसारणलाइन निर्माणमा एडीबीले ४० प्रतिशत लगानी गरिसकेको र आगामी ५ वर्षभित्र ऊर्जा क्षेत्रमा थप १.५ बिलियन डलर लगानी गर्ने योजना रहेको बताइन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise