शिक्षा नेत्रविहीनको पनि नेत्र हो । उज्यालोबाट विमुखले पुन अर्को बिहानको उज्यालोको सामना र अनुभव गर्न पाउँछन् तर शिक्षाबाट विमुखको लागि अर्को कुनै विकल्प रहँदैन । शिक्षा नागरिकको आधारभूत आवश्यकता हो । राष्ट्र निर्माणमा यसको विशेष योगदान रहने गर्दछ । एउटा सफल राष्ट्रका पछाडि त्यो देशका जनताको साक्षरता जोडिएको हुन्छ । कुनै पनि देशको पहिचानको यथार्थपरकता त्यो देशका जनताको योगदान र क्षमतामा निर्भर रहन्छ । शिक्षा सभ्य समाज निर्माणका लागिमात्र औचित्यपूर्ण रहने होइन, समाजको रुपान्तरण सहितको विकासक्रम, अध्ययन र अनुसन्धान पद्धत्तिसँग पनि यसको विशेष भूमिका जोडिएको हुन्छ ।
विश्वव्यापीकरणको प्रभावले शिक्षाको दियोबाट कोही विमुख हुँनु हुँदैन भन्ने सन्देश दिएको छ तर शिक्षा व्यवसायको रुपमा फास्टाउँने क्रम पनि तीब्र छ । तेश्रो विश्व अन्तर्गतका राष्ट्रले शिक्षालाई राष्ट्रको कार्यक्षेत्र भित्र राख्न जरुरी छ । वैज्ञानिक, व्यवहारिक एवं सर्व सुलभ शिक्षाका पक्षमा राजनैतिक नेतृत्व क्रियाशील रहन जरुरी छ । सरकारमा आफै बसेर परिवर्तन गर्न नसक्नु अनि स्याल हुँइया मच्चाउनु उपयुक्त होइन । सुसंगत, समतामुलक र न्यायपूर्ण व्यवहारको निर्माणमा नै शिक्षाको भूमिका रहन्छ । पछिल्लो समय शिक्षा पद्धत्ति र बुझाईमा अपव्याख्या शुरु भएको छ जसले समाजको विकासक्रमलाई अधोगतितिर धकेल्दछ । आजका शिक्षित बालबालिका भोलिका राष्ट्र निर्माणका कर्णाधार हुन् र विश्व नागरिक बन्ने प्रक्रियामा राज्यको भूमिका पनि सशक्त हुन जरुरी छ ।
शिक्षा क्षेत्रमा अनावश्यक व्यापारीकरण भएको अवस्थामा शिक्षा क्षेत्रलाई राष्ट्रियकरण गर्न पछि पर्नुहुँदैन । निशुल्क शिक्षा र शिक्षाको व्यापारीकरणको अन्त्यकालागि सरकारमा रहेका मन्त्री र सत्तापक्षले नै बोल्दा एउटा हाँस्यास्पद नाटक भन्दा बढि केहि अनुुभूति हुन सकेको छैन । सत्तामा रहेर जनताको सर्वसुलभताको लागि काम गर्ने समयको राजनैतिक नेताले ख्याल गर्नैपर्दछ । संविधानमा नै व्याख्या भएको आधारभूत तहसम्मको निःशुल्क शिक्षाको व्यवस्था लागू गर्न सरकार सफल प्रमाणित हुनु नै पर्दछ । दुई तिहाईको सरकारको नेतृत्व गरेका व्यक्तित्वले नै शिक्षाका बारेमा बोलिरहँदा र समस्या जनाइरहँदा त्यसलाई सर्वसुलभ बनाउन केले रोकेको छ, यो चाहि बुझि नसक्नुको विषय बनेको छ । शिक्षा सबैका लागि र सधैंका लागि भन्ने राष्ट्रिय नारा बोक्न सरकार सफल हुनुपर्दछ । कृषि, पर्यटन, जलश्रोत जस्ता सम्भावनाका क्षेत्रमा रहेर पाठ्यक्रम विकास गर्दै सम्मुन्नत र समृद्ध नेपाल निर्माण गर्न सफल हुँदै राष्ट्रिय पहिचान र विकास कायम गर्न सक्नुपर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies