२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

रौतहटमा तीनवटा खुट्टा भएको नवजात शिशुको जन्म, थप उपचारका लागि नारायणी अस्पताल रेफर

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक १७ गते १५:२२
Shares
रौतहटमा तीनवटा खुट्टा भएको नवजात शिशुको जन्म, थप उपचारका लागि नारायणी अस्पताल रेफर

रौतहट : रौतहटको राजपुर नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा तीनवटा खुट्टा भएको नवजात शिशुको जन्म भएको छ । स्वास्थ्यकर्मीहरूको सतर्कता र सक्रियतामा शिशुको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरिएको छ ।

सोमबार बिहान करिब ५ बजे गुजरा नगरपालिका–८ कनकपुर निवासी २८ वर्षीया नुसिदा खातुनले सामान्य प्रसूतिमार्फत नवजात शिशुलाई जन्म दिएकी हुन् । सुत्केरी खातुन राजपुर नगरपालिका–३ डमार चोक निवासी सेख मोसाफिरकी छोरी हुन् ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्यकर्मी रामेश्वर मिश्रका अनुसार नवजात शिशुको तौल ३ किलोग्राम रहेको छ । जन्मलगत्तै गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा शिशुको सामान्य स्वास्थ्य अवस्था सन्तोषजनक पाइएको थियो ।

तर, शिशुको शारीरिक बनोट भने सामान्यभन्दा फरक रहेको छ । शिशुको शरीरमा दुईवटा सामान्य खुट्टाका अतिरिक्त देब्रे खुट्टामा अर्को एउटा खुट्टा जोडिएको छ । थपिएको खुट्टा अन्य दुई खुट्टाको तुलनामा केही पातलो भए पनि त्यसमा नङसमेत रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

नवजात शिशुको असामान्य शारीरिक अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरूले थप परीक्षण तथा विशेषज्ञ उपचार आवश्यक रहेको निष्कर्ष निकालेका थिए । त्यसपछि प्रसूति सेवामा खटिएका स्वास्थ्यकर्मी आजाद हुसैनलगायतको टोलीले शिशुलाई तत्काल वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरेको हो ।

यद्यपि, परिवारका सदस्यहरूले आपसी सल्लाह र समझदारीपछि शिशुलाई स्वास्थ्य केन्द्रबाट अन्यत्र लगेको जनाइएको छ । शिशुको वास्तविक स्वास्थ्य अवस्था र थप उपचारबारे विस्तृत जानकारी विशेषज्ञ चिकित्सकबाट परीक्षण भएपछि मात्र स्पष्ट हुने बताइएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर