२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

ममताको मुद्दामा सकियो बहस, फैसला अनिश्चित

अन्तिम बहसमा दाइले के भने ?

Nada
२०८३ कार्तिक १७ गते १४:०५
Shares
ममताको मुद्दामा सकियो बहस, फैसला अनिश्चित

काठमाडौं : अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता प्रकरणमा उनका श्रीमान् नरेश भट्टविरुद्ध चलिरहेको हत्यासम्बन्धी मुद्दामा सरकारी पक्षले प्रमाण र साक्षी प्रस्तुत गर्ने काम पूरा गरेको छ । तर, मुद्दाको फैसला कहिले आउँछ भन्ने निश्चित भइसकेको छैन । अब प्रतिरक्षा पक्षले आफ्ना साक्षी र प्रमाण प्रस्तुत गर्नेछ । त्यसपछि दुवै पक्षको अन्तिम बहस र न्यायाधीशको निर्देशनअनुसार जुरीले निर्णय दिने प्रक्रिया अघि बढ्नेछ ।

अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा नोभेम्बर २, सोमबार भएको सुनुवाइमा सरकारी पक्षले अन्तिम साक्षी प्रस्तुत गरेको थियो । पाँचौँ सातामा प्रवेश गरेको मुद्दामा सोमबार ममताका दाजु महेश काफ्ले, परिवारका साथी तथा न्यायिक परीक्षणमा संलग्न विज्ञहरूले बयान दिएका थिए ।

अमेरिकी सञ्चारमाध्यम डब्लूजेएलएका अनुसार सरकारी पक्षले करिब १५ दिनको सुनुवाइमा ८० भन्दा बढी साक्षीको बयान गराइसकेको छ । सुरुमा करिब १४० जनाको साक्षी सूची रहे पनि सरकारी पक्षले सोमबार आफ्नो प्रमाण प्रस्तुत गर्ने चरण पूरा गरेको हो ।

सरकारी पक्षले प्रमाण प्रस्तुत गर्ने काम सके पनि मुद्दा अन्तिम चरणमा पुगेको भन्न मिल्दैन । अब प्रतिरक्षा पक्षले आफ्ना साक्षी र प्रमाण प्रस्तुत गर्नेछ । त्यसपछि सरकारी पक्ष र प्रतिरक्षा पक्षले अन्तिम बहस गर्नेछन् । न्यायाधीशले जुरीलाई कानुनी निर्देशन दिएपछि उनीहरूले उपलब्ध प्रमाणका आधारमा निर्णय लिनुपर्नेछ ।

यसअघि अदालतले मुद्दाको सुनुवाइ करिब सात सातासम्म चल्न सक्ने अनुमान गरेको थियो । तर, साक्षी र प्रमाणको संख्या तथा सुनुवाइको गतिका कारण समयतालिका प्रभावित भएको छ । अक्टोबर २१ मा न्यायाधीश किम्बर्ली इर्भिङले सरकारी पक्षले सुरुमा अनुमान गरेअनुसार सुनुवाइ सकिनेमा आफू विश्वस्त नरहेको टिप्पणी गरेकी थिइन् ।

अमेरिकी सञ्चारमाध्यम फक्स फाइभ डिसीले नोभेम्बर २ मा सार्वजनिक गरेको विवरणअनुसार सरकारी पक्षको सुनुवाइ सकिएपछि प्रतिरक्षा पक्षले आफ्ना साक्षी र प्रमाण प्रस्तुत गर्ने अवसर पाउनेछ । नरेश आफैँ अदालतमा बयान दिन्छन् वा दिँदैनन् भन्ने अझै स्पष्ट छैन । प्रतिवादीलाई आफ्नो पक्षमा बयान दिन बाध्य पार्न मिल्दैन ।

यसअघि सार्वजनिक गरिएको सुनुवाइको अनुमानअनुसार नोभेम्बर अन्तिम सातासम्म फैसला आउन सक्ने सम्भावना छ । तर, प्रतिरक्षा पक्षको सुनुवाइ कति दिन चल्छ भन्ने स्पष्ट नभएकाले यो निश्चित मिति होइन ।

सोमबारको सुनुवाइमा ममताका दाजु महेश काफ्लेले बहिनीसँग भएका कुराकानी र उनको वैवाहिक सम्बन्धबारे बयान दिएका थिए । उनले सन् २०२१ मा ममता अमेरिका गएपछि पनि नियमित सम्पर्कमा रहेको बताएका थिए ।

महेशका अनुसार सन् २०२४ को फेब्रुअरीतिर ममताले परिवारसँग भिडियोमा कुरा गर्न छाडेर अडियोमा मात्रै कुराकानी गर्न थालेकी थिइन् । उनले दाजुलाई केही तस्बिर पठाउँदै सुरक्षित राख्न र परिवारका अन्य सदस्यलाई तत्काल नभन्न आग्रह गरेकी थिइन् । महेशले बहिनीले आफू सुरक्षित महसुस नगरेको बताएको र उनीहरूबीच सम्बन्धविच्छेदबारे पनि कुराकानी भएको अदालतमा बताएका थिए ।

महेशले नरेशसँग ममताको अवस्थाबारे सोध्दा आफूलाई स्पष्ट जानकारी नदिएको पनि बयान दिएका थिए । अहिले उनी ममताकी छोरीको हेरचाह आफ्नै सन्तानसरह गरिरहेको बताइएको छ ।

सोमबार ममताकी साथी मन्दिरा श्रेष्ठले पनि अदालतमा बयान दिएकी थिइन् । उनले ममता बेपत्ता भएपछि नरेशले आफूलाई दम्पतीका गहना र विवाहको औँठी सुरक्षित राख्न दिएको बताइन् ।

श्रेष्ठका अनुसार नरेशले ममता फर्किए गहना उनलाई नै दिन र नफर्किए उनकी आमालाई बुझाउन भनेका थिए । उनले पछि ती गहना प्रहरीलाई बुझाएको बयान दिएकी छन् । दम्पतीबीच लामो समयदेखि वैवाहिक समस्या रहेको र सम्बन्धविच्छेदबारे पनि कुराकानी हुने गरेको उनको भनाइ थियो ।

अदालतमा न्यायिक परीक्षणसम्बन्धी विज्ञले घरको शयनकक्षको कार्पेटमा भेटिएको दागको डीएनए परीक्षणबारे पनि बयान दिएकी थिइन् । परीक्षणले उक्त नमुनामा ममता र उनकी छोरीको डीएनए रहेको सम्भावनालाई बलियो समर्थन गरेको उनको भनाइ थियो । तर, नरेशको डीएनए रहेको वा नरहेको निष्कर्ष निकाल्न नसकिएको उनले स्पष्ट पारेकी थिइन् ।

त्यस्तै, दाग कहिले र कसरी परेको हो भन्ने पनि परीक्षणबाट यकिन गर्न नसकिने उनको बयान थियो । त्यसैले उक्त परीक्षणको नतिजाले मात्रै कुनै आपराधिक घटना प्रमाणित नगर्ने उनले बताएकी थिइन् ।

सरकारी पक्षले आफ्ना साक्षी प्रस्तुत गरिसकेपछि प्रतिरक्षा पक्षले मुद्दा खारेज गर्न माग गरेको थियो । अभियोजन पक्षले आरोप पुष्टि गर्न पर्याप्त प्रमाण प्रस्तुत नगरेको र ममताको शवसमेत फेला नपरेको प्रतिरक्षाको जिकिर थियो ।

तर, न्यायाधीशले प्रतिरक्षाको माग अस्वीकार गर्दै नरेशविरुद्धका तीनवटै अभियोग कायम राखेका छन् । उनीमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोग छ । नरेशले भने सबै अभियोग अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन् ।

मंगलबार नोभेम्बर ३ मा निर्वाचन दिवस परेकाले अदालतमा साक्षीको बयान नहुने जनाइएको छ । नोभेम्बर ४, बुधबारदेखि प्रतिरक्षा पक्षले आफ्ना साक्षी र प्रमाण प्रस्तुत गर्नेछ ।

ममता सन् २०२४ को जुलाई अन्तिम सातादेखि सम्पर्कविहीन भएकी थिइन् । उनी भर्जिनियास्थित स्वास्थ्य संस्थामा नर्सका रूपमा कार्यरत थिइन् । काममा उपस्थित नभएपछि सहकर्मीले उनको अवस्थाबारे प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अगस्ट २२, २०२४ मा नरेशलाई पक्राउ गरेको थियो । ममताको अवस्था अझै अज्ञात छ र उनको शव फेला परेको छैन ।

सरकारी पक्षले नरेशविरुद्ध परिस्थितिजन्य, डिजिटल तथा न्यायिक परीक्षणका प्रमाण प्रस्तुत गरेको छ । प्रतिरक्षा पक्षले भने ती प्रमाणको विश्वसनीयता र व्याख्यामाथि प्रश्न उठाउँदै आएको छ । अब प्रतिरक्षा पक्षको सुनुवाइ र त्यसपछिको अन्तिम बहसले फैसला आउने समय निर्धारण गर्नेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर