
काठमाडौँ : पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ । प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोसमेत जान सक्ने पूर्वानुमान गरिएको छ ।
मौसम प्रतिकूल हुँदा पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले विभागले उच्च हिमाली क्षेत्रमा जाने योजना स्थगित गर्न र त्यहाँ पुगिसकेका पर्यटक तथा पर्वतारोहीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर मात्र यात्रा योजना बनाउन आग्रह गरिएको छ ।
यसैबीच, खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या एक्युट माउन्टेन सिकनेस (एएमएस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन पर्यटन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ ।
विभागले प्रतिकूल मौसमबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै पर्यटक, पदयात्री तथा पर्वतारोहीलाई सुरक्षित रहन र सम्बन्धित निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ ।