२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सम्पन्न, अनुमोदनको निर्णय बाँकी

Nada
२०८३ असोज २८ गते १७:१०
Shares
प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सम्पन्न, अनुमोदनको निर्णय बाँकी

काठमाडौं : विभिन्न १३ देशका लागि प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइ सम्पन्न भएको छ । बुधबार अन्तिम चार जनाको सुनुवाइ सकिएसँगै संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया पूरा भएको हो ।

ncell

सुनुवाइ सम्पन्न भए पनि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय भने समितिले गरिसकेको छैन । समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन् । छलफलपछि बुधबार नै बैठक बसेर निर्णय गर्ने तयारी गरिएको छ ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशी छन् ।

त्यसैगरी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन् ।

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सोमबारदेखि लगातार हुँदै आएको थियो । सुनुवाइका क्रममा साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार, जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापा र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नैतिक आचरणबारे सांसदहरूले प्रश्न उठाएका थिए ।

यद्यपि, उनीहरूको नियुक्ति अनुमोदन गर्ने वा नगर्ने सम्बन्धमा समितिको अन्तिम निर्णय आउन बाँकी छ । समितिको निर्णयपछि मात्रै प्रस्तावित राजदूतहरूको नियुक्तिको प्रक्रिया थप अघि बढ्नेछ ।

ताजा खबर

सम्बन्धित खबर