२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

अन्तिम म्यासेजपछि मौन छ मोबाइल, टिचिङको भित्तामा खोजिँदै छ अनुहार

Nada
सपना बोहरा
२०८३ भदौ १५ गते ०६:४०
Shares
अन्तिम म्यासेजपछि मौन छ मोबाइल, टिचिङको भित्तामा खोजिँदै छ अनुहार

काठमाडौं : महाराजगन्जस्थित टिचिङ अस्पतालको भित्तामा आइतबार एउटा सानो हातले पोस्टर टाँस्दै थियो । झ्यालको आड लिएर उभिएका करिब सात–आठ वर्षका बालक कहिले पोस्टर समाउँथे, कहिले भित्तामा टाँसिन सजिलो होस् भनेर हातले थिच्थे । उनी बाढीमा बेपत्ता भएका आफन्त खोज्न अस्पताल पुगेका थिए ।  

ncell

पोस्टर टाँसिसकेपछि पनि उनी रोकिएनन् । अरूले ल्याएका पोस्टर पनि टाँस्न सघाए । त्यो दृश्य टिचिङ अस्पताल पुगेका धेरैको मन कटक्क खायो । सार्वजनिक बिदाको दिन भएकाले अस्पतालको ओपिडी बन्द थियो । तर, अस्पतालपरिसरमा मानिसको भिड थियो । उनीहरू उपचारका लागि होइन, बाढीले छुटाएका आफन्तको खोजीमा आएका थिए ।

कसैको काख रित्तिएको थियो । कसैको सिन्दुर हराएको थियो । कसैले बुढेसकालको सहारा गुमाएको थियो । साना बालबालिकादेखि वृद्धवृद्धासम्म अस्पतालका भित्तामा टाँसिएका तस्बिर नियालिरहेका थिए । कसैको नजर परिचित अनुहार खोज्दै थियो । कसैले बेपत्ता आफन्तको पोस्टर भित्तामा टाँस्दै थियो । 

बाढीमा परेर घाइते भएकाहरूको अस्पतालभित्र उपचार भइरहेको थियो । बाढीमा ज्यान गुमाएकाहरूका शव शवगृहमा राखिएका थिए । तीमध्ये पहिचान हुन नसकेका शवको तस्बिर अस्पतालले तयार पारेर भित्तामा टाँसेको थियो । आफन्तहरू ती तस्बिरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका थिए । 

त्यही भिडमा थिए, रौतहटको वृन्दावन–२का विष्णुदयाल पटेल र उनका भाइहरू । उनी आफ्ना २८ वर्षीय भतिज गौरवकुमार राउतको खोजीमा पुगेका थिए । गौरव १० भदौमा रसुवामा आएको बाढीपछि बेपत्ता छन् । उनी अपर त्रिशूली–२१६ जलविद्युत् आयोजनामा सर्भे इन्स्पेक्टरका रूपमा कार्यरत थिए । अस्पतालको एउटा कुनामा बसेर काका पटेल कहिले मोबाइल हेर्थे, कहिले भित्तामा टाँसिएको गौरवको पोस्टर हेर्थे । आँखामा आँसु टिलपिलाइरहेको थियो । 

मोबाइलमा गौरवले ह्वाट्सएपमार्फत पठाएको म्यासेज सुरक्षित थियो । पटक–पटक मोबाइल हेरे पनि त्यसपछि अर्को म्यासेज आएको छैन । त्यो म्यासेज नै गौरवको परिवारसँगको अन्तिम सम्पर्क बनेको छ । 

गौरवलाई बाढी आउँदै छ भन्ने सूचना अरूभन्दा पहिले नै थाहा हुन्थ्यो । उनको काम नै आयोजनास्थलमा जोखिमको सूचना दिनु पनि थियो । बाढीको खतरा देखिएपछि उनले साइरन बजाएर सबैलाई सचेत गराउँथे । आफ्ना मातहतका कर्मचारी र कामदारलाई ह्वाट्सएपमार्फत सूचना पठाउँथे । ‘भतिजलाई बाढी आउँदै छ भन्ने जानकारी पहिले नै हुन्थ्यो,’ काका पटेलले भने, ‘उनले नै बाढी आएको खतराको साइरन बजाएर संकेत दिन्थे र सुरक्षित हुन सचेत गराउँथे ।’

भोटेकोशीमा १० गते बिहान बाढी आउन लागेको सूचना गौरवले पनि पहिले नै पाएका थिए । उनले अपर त्रिशूलीका कर्मचारी र कामदारलाई जानकारी गराए । कार्यालयमा प्रत्यक्ष पुगेर र ह्वाट्सएपमार्फत पनि सचेत गराए ।

त्यही दिन बिहान उनले परिवारलाई पनि म्यासेज पठाएका थिए । बिहान करिब ६ बजे दिदीबहिनीसँग रक्षाबन्धनबारे कुराकानी गरेका गौरवले बिहान ८ः५९ बजे श्रीमती र बहिनीलाई ठुलो बाढी आएको जानकारी गराए । त्यसपछि उनको फोन मौन छ । पाँच दिन बितिसक्दा पनि परिवारले उनको अर्को म्यासेज पाएको छैन । 

बाढी आउँदा गौरवले आयोजनास्थलमा खतराको साइरन बजाएका थिए । उनका कार्यालयका साथीहरूले परिवारलाई बताएअनुसार उनी सुतिरहेका कामदारलाई उठाउन कोठा–कोठामा पुगेका थिए । ढोका ढकढक्याएर उनीहरूलाई बाहिर निकाल्ने प्रयास गरेका थिए ।

बाढी आएको केही सेकेन्डमै पहाडको भित्तामा भएको लहरा समातेर उनका केही सहकर्मी बाँच्न सफल भए । तर, अरूलाई बचाउन दौडिएका गौरव भने त्यसपछि सम्पर्कविहीन छन् । यही कुराले काका पटेलको मनमा एउटा आशा अझै बाँकी छ । ‘भतिजलाई पहिले नै बाढी आएको जानकारी थियो, त्यसैले उनी जोगिनुपर्ने हो’ उनले भने, ‘कतै जंगलमा घाइते अवस्थामा पो छन् कि ?’

आशा र डरबीच अस्पताल पुगेका पटेलले पहिचान नभएका शवका तस्बिर पनि हेरे । एक÷दुईवटा होइन, सयौं तस्बिर । हरेक अनुहारमा उनी गौरव खोजिरहेका थिए । तर, अहिलेसम्म कुनै शवलाई भतिज भनेर पहिचान गर्न सकेका छैनन् । ‘८० प्रतिशत शवहरू चिनिँदैनन्,’ उनले भने, ‘पहिचान गर्न सकिएको छैन । भतिज फर्किन्छन् कि भन्ने आशा पनि लाग्छ ।’

गौरवको परिवारजस्तै दक्षिणकालीका केदार बस्नेत पनि आफ्ना आफन्तको खोजीमा टिचिङ अस्पताल पुगेका थिए । मामाको छोरा–बुहारी, भतिज–भतिजी र एकजना छिमेकी गरी पाँच्जनाको खोजीमा उनी अस्पताल आएका थिए । बस्नेतले शवगृहमा राखिएका पहिचान नभएका शव हेरे । एउटापछि अर्को शव हेर्दै आफन्तको अनुहार खोजे । तर, शवहरू पहिचान गर्न सकिने अवस्थामा थिएनन् । कतिपय शवको अवस्था यस्तो थियो कि आफ्नै मान्छे भए पनि छुट्याउन कठिन थियो । अन्ततः उनले अस्पतालसँग ती शवहरू हेर्नका लागि सहयोग र अनुमति मागे । 

टिचिङ अस्पतालका भित्तामा दिन बित्दै जाँदा बेपत्ता भएका मानिसका पोस्टर थपिँदै छन् । पहिचान हुन नसकेका शवका तस्बिर पनि बढिरहेका छन् । एउटा पोस्टर टाँसिन्छ, त्यसको छेउमा अर्को पोस्टर थपिन्छ । एउटा अनुहारमुनि ‘बेपत्ता’ लेखिन्छ, अर्को अनुहारमुनि पहिचानको प्रतीक्षा । 

अस्पतालको त्यो भित्तामा अहिले कागज टाँसिएका छैनन् । त्यहाँ परिवारका आशा टाँसिएका छन् । फर्किएर आउने मान्छेको प्रतीक्षा टाँसिएको छ । कतिपय परिवारका लागि अन्तिम सत्य पत्ता लगाउने बाध्यता पनि त्यही भित्तामा अडिएको छ । 

गौरवका काका पटेलका लागि पनि त्यो भित्ताको अर्थ यही हो । उनी एउटा शवमा गौरवको अनुहार भेटियोस् भन्ने चाहँदैनन् । उनी त मोबाइलमा अर्को म्यासेज आउँछ भन्ने प्रतीक्षामा छन् । ‘म सुरक्षित छु भन्ने म्यासेज आउँछ कि भनेर हेरिरहन्छु’ उनी भन्छन् । 

तर, पाँच दिनदेखि मोबाइल मौन छ । टिचिङ अस्पतालको भिडमा धेरै परिवारका हातमा यस्तै मोबाइल छन् । कतै फोन आउँछ कि भन्ने आशा छ । अस्पतालको भित्तामा पोस्टर टाँस्दै गरेको त्यो सानो बालकदेखि मोबाइलमा अन्तिम म्यासेज हेर्दै आँसु पुछिरहेका काका पटेलसम्म, त्यहाँ हरेक अनुहारको एउटै प्रश्न छ– बाढीले लगेको हाम्रो मान्छे कहाँ छ ?

ताजा खबर

सम्बन्धित खबर