२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

अँध्यारो सुरुङमा उद्धारको आशा, फसेकाहरू जीवितै भेटिने विश्वास

Nada
दिवाकर अधिकारी
२०८३ भदौ १५ गते ०६:३०
Shares
अँध्यारो सुरुङमा उद्धारको आशा, फसेकाहरू जीवितै भेटिने विश्वास

काठमाडौं : चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुईवटा शव निकालिएको छ । योसँगै रसुवा बाढीका कारण थुनिएका वा पुरिएका जलविद्युत् आयोजनाको सुरुङ वा टनेलमा फसेकाहरूको अवस्था थाहा हुने आशा जगाएको छ । 

ncell

आइतबार भारतीय टोली आएपछि नेपाली सेनासँग संयुक्त रूपमा उद्धारको काम सुरु गरेका थिए । सो क्रममा चिलिमे सुरुङको १०० मिटर भित्रबाट दुईवटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्‍याएपछि अब उद्धारकर्ताको ध्यान सुरुङभित्र केन्द्रित भएको छ । बाढी आएको पाँच दिनपछि नेपाली सेना, भारतीय तथा चिनियाँ सुरुङ उद्धार विशेषज्ञसहितका टोली प्रभावित आयोजनामा पुगेका हुन् । कतिपय सुरुङको प्रवेशद्वार नै पहिरो र लेदोले पुरिएका छन् भने कतिपयमा सयौं मिटरभित्र कामदार तथा प्राविधिक फसेको अनुमान छ ।

उद्धार टोलीले आइतबारदेखि चिलिमे, अपर त्रिशूली–१ र लाङटाङलगायत आयोजनामा काम थालेका हुन् । यसक्रममा चिलिमेको सुरुङमा प्रवेश गरेर नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले दुई शवसमेत निकालेको हो । सुरुङभित्र अझै मानिस रहेको हुनसक्ने भएकाले खोजी जारी छ ।

बाढीबाट रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी कम्तीमा १३ जलविद्युत् आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार प्रारम्भिक विवरणमा ती आयोजनामा रहेका ९३४ जना सम्पर्कविहीन भएका थिए । रसुवाका मात्रै सात आयोजनामा ७३० जना सम्पर्कविहीन थिए ।

रसुवामा बाढीबाट प्रभावित सात आयोजनामध्ये रसुवागढी, रसुवा भोटेकोशी, लाङटाङ खोला, चिलिमे, मैलुङ खोला र माथिल्लो त्रिशूली १ प्रमुख छन् । तीमध्ये केही आयोजना सञ्चालनमा छन् भने केही निर्माणाधीन अवस्थामा छन् ।

२१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली १ सबैभन्दा ठुलो मानवीय संकट देखिएको आयोजना हो । प्रारम्भिक विवरणअनुसार त्यहाँ काम गरिरहेका करिब ५७६ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये करिब ४ सयजना सुरुङ तथा हेडवक्र्स क्षेत्रमा फसेको अनुमान गरिएको थियो । पछि २५४ जनालाई उद्धार गरिएको भए पनि करिब ३०० जना सुरुङभित्र फसेको आशंका कायमै रहेको छ ।

त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना, १२० मेगावाटको रसुवा–भोटेकोशीमा चारजना, २० मेगावाटको लाङटाङ खोलामा ४२ जना, २२ मेगावाटको चिलिमेमा आठजना र पाँच मेगावाटको मैलुङ खोलामा सातजना सम्पर्कविहीन भएको इप्पानको विवरण थियो ।

नुवाकोटतर्फ पनि बाढीले ठुलो असर पारेको छ । ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’मा ठुलो संख्यामा मानिस सम्पर्कविहीन भए पनि उनीहरू सुरुङमा फसेका भने छैनन् । आयोजनाका अनुसार सम्पर्कविहीनमध्ये अधिकांश सतहमा निर्माण, क्याम्प वा कार्यालय क्षेत्रमा रहेका कामदार तथा कर्मचारी हुन् । 

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’मा भने अवस्था फरक छ । विद्युत् गृह नै भूमिगत रहेको यो आयोजनामा ओभरहलिङको काम भइरहेको बेला करिब ४२ जना उच्च प्राविधिक तथा कर्मचारी सुरुङभित्र रहेको अनुमान गरिएको थियो । बाढी र पहिरोपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन ।

ऊर्जा मन्त्रालयका अनुसार ठुलो संख्यामा मानिस फसेको आशंका माथिल्लो त्रिशूली–१ मा छ । त्यहाँ करिब ३०० जना सुरुङभित्र फसेको अनुमान छ ।

माथिल्लो त्रिशूली–३ ‘ए’मा करिब ४२ जना सुरुङ क्षेत्रमा रहेको अनुमान छ । चिलिमेको सुरुङमा सुरुमा ६ जना कर्मचारी फसेको जानकारी आयोजनाले दिएको थियो । तीमध्ये दुईजनाको शव आइतबार सुरुङबाट निकालिएको छ । बाँकीको अवस्थाबारे खोजी भइरहेको छ ।

लाङटाङ जलविद्युत् आयोजनामा पनि सुरुङभित्र कामदार फसेको प्रारम्भिक विवरण आएको थियो । आयोजनाका अनुसार बाहिर रहेका केही कर्मचारीको उद्धार भए पनि सुरुङभित्र रहेका मानिससम्म उद्धार टोली पुग्न सकेको थिएन । प्रारम्भिक अनुमानमा करिब २५ देखि ३५ जना सुरुङभित्र फसेका हुनसक्ने बताइएको थियो ।

यसरी हेर्दा सम्पर्कविहीन र सुरुङभित्र फसेका मानिस एउटै संख्या होइनन् । ८९८ जना सम्पर्कविहीन भएको इप्पानको पछिल्लो विवरणमा सतहमा रहेका कामदार र कर्मचारीसमेत पर्छन् । तीमध्ये माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’, लाङटाङ र चिलिमेजस्ता आयोजनामा मात्रै सुरुङभित्र फसेका मानिसको संख्या ठुलो छ ।

५ दिनपछि सुरुङमा विदेशी विशेषज्ञ

सुरुङ उद्धारमा नेपालको प्राविधिक क्षमता र उपकरण सीमित देखिएपछि भारत र चीनबाट विशेषज्ञ टोली ल्याइएको हो । भारतीय टोलीमा चिकित्सक, प्यारामेडिक्स तथा सुरुङ इन्जिनियरसहितका विशेषज्ञ छन् । अर्को भारतीय सैन्य टोलीसमेत उद्धारमा परिचालन भएको छ । चिनियाँ सुरुङ विशेषज्ञ टोलीलाई २१६ मेगावाटको माथिल्लो त्रिशूली–१मा खटाइएको छ ।

चिलिमेमा भारतीय र नेपाली सेनाको संयुक्त टोलीले सुरुङभित्र करिब १०० मिटर प्रवेश गरेर दुई शव निकालेको छ । त्यसअघि माउन्टेनियरिङ रेस्क्यु विज्ञको टोलीले सुरुङभित्र गएर छातीसम्म लेदो भरिएको र विशेष उपकरणबिना अगाडि बढ्न नसकिने अवस्था रहेको जानकारी दिएको थियो ।

उता माथिल्लो त्रिशूली–३ ‘ए’मा पनि आइतबार महत्त्वपूर्ण प्रगति भएको छ । सुरुङको प्रवेशद्वार पत्ता लागेको छ । सम्भावित फसेका व्यक्तिसम्म पुग्न पुरिएको भाग हटाउने काम भइरहेको छ । सुरुङभित्रको अवस्था बुझ्न क्यामेरा तथा अन्य उपकरण प्रयोग गर्ने तयारी गरिएको छ ।

पाँच दिनसम्म उद्धार हुन नसक्दा सुरुङभित्र फसेकाहरूको अवस्थाबारे परिवारमा चिन्ता बढेको छ । तर, सुरुङभित्र हावा पु¥याउने प्रयास, प्रवेशमार्ग पत्ता लगाउने काम र विशेषज्ञ टोलीको परिचालनले उद्धारको आशा पनि बढाएको छ ।

माथिल्लो त्रिशूली–३ ‘ए’मा यसअघि हावा पुर्‍याउन विभिन्न स्थानबाट प्वाल बनाइएको थियो । अहिले प्रवेशमार्ग भेटिएपछि उद्धारकर्ताले सुरुङभित्र अक्सिजन, क्यामेरा र आवश्यक उपकरण लैजाने तयारी गरेका छन् । यसले भित्र रहेका व्यक्तिको वास्तविक अवस्था पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चिलिमेमा दुई शव भेटिनु पीडादायी भए पनि सुरुङभित्र पुग्न सकिन्छ भन्ने प्रमाण पनि बनेको छ । अब त्यहाँ बाँकी व्यक्तिको खोजी तीव्र पारिएको छ । माथिल्लो त्रिशूली–१मा चिनियाँ सुरुङ विशेषज्ञसहितको टोली परिचालन भइसकेकाले त्यहाँ पनि उद्धारको गति बढ्ने अपेक्षा छ ।

यद्यपि, उद्धारमा भएको ढिलाइप्रति प्रश्न पनि उठेको छ ।  बाढीपछि चार दिनसम्म सुरुङमा फसेकाको उद्धार प्रभावकारी रूपमा सुरु हुन नसकेको र विदेशी विशेषज्ञ टोली पाँच दिनपछि मात्रै फिल्डमा पुगेको भन्दै विज्ञ तथा आयोजना सञ्चालकहरूले चिन्ता व्यक्त गरेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले भारत र चीनबाट केही घण्टामै विशेषज्ञ र उपकरण ल्याउन सकिने अवस्था हुँदाहुँदै ढिलाइ भएको बताएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का अनुसार रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ । 

‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ । साथै चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको उनले बताएका छन् । नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धारको प्रयास जारी छ । आयोजनामा भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा उद्धारको प्रयास भइरहेको छ । यस क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ । 

रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकी गरी पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको छ । रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाद्वारा खोज तथा उद्धार प्याट्रोल भइरहेको छ । भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकी गरी पम्प र एस्काभेटर लगेर थप काम सुरु भएको छ । रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भई काम समेत सुरु भइसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर