अर्घाखाँची : नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष काशीराम बस्यालले गुणस्तरीय काम नगर्ने व्यवसायीको पक्षमा संघ नहुने स्पष्ट पारेका छन् ।
संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले पछिल्लो समय कम मूल्यमा ठेक्का लिनेदर बढ्दै जाँदा गुणस्तरीय काम प्रभावित भएको र यसले नागरिकबीच प्रश्न उठ्ने अवस्था सिर्जना गरेको बताए ।
उनका अनुसार समृद्धि र विकास निर्माणका प्रमुख संवाहक व्यवसायी भए पनि म्याद नपुग्ने, माइलस्टोनका समस्या र निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा परेको छ । “कम मूल्यमा ठेक्का लिएर समयमा र गुणस्तरीय काम नगर्ने व्यवसायीको पक्षमा हामी छैनौं,” उनले भने, “सच्चिन चाहने र राम्रो काम गर्ने व्यवसायीले मात्र नागरिकको विश्वास जित्न सक्छन् ।”
अध्यक्ष बस्यालले केही व्यवसायीका कारण सम्पूर्ण निर्माण व्यवसायीमाथि गलत आरोप लाग्ने गरेको उल्लेख गर्दै इमानदार र गुणस्तरीय काममार्फत यस्ता धारणालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासचिव अर्जुन खनालले पनि निर्माण पेशा व्यवस्थित गर्ने चुनौती बढ्दै गएको बताए । उनले इमानदार व्यवसायी अझै टिकिरहे पनि लोभका कारण समस्या बढेको धारणा राखे । “म्याद थपिँदा हामी मख्ख पर्ने गर्छौं, तर यो समाधान होइन,” उनले भने, “प्रक्रिया नपुगेको खण्डमा ठेक्का रद्द हुनुपर्छ, म्याद थपमा मात्र भर पर्नु हुँदैन ।”