२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जापानले भारतमा ६८ अर्ब डलर लगानी गर्ने

Nada
२०८२ भदौ १३ गते १८:४५
Shares
जापानले भारतमा ६८ अर्ब डलर लगानी गर्ने

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टोकियो भ्रमणका क्रममा जापानले भारतमा ६८ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

ncell

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भने, ‘भारतको विशाल बजार यति धेरै सम्भावनाले भरिएको छ कि यसको जीवन्ततालाई समावेश गर्दा जापानको अर्थतन्त्रको वृद्धिलाई अगाडि बढाउन मद्दत पुग्नेछ ।’

द्विपक्षीय व्यापार हाल वार्षिक २० अर्ब डलरभन्दा बढीको छ, जसले जापानलाई ठूलो फाइदा पुर्‍याइरहेको छ । चीन भ्रमणअघि प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणका क्रममा बोल्दै इशिबाले जापानले भारतमा लगानी बढाएर १० ट्रिलियन येन (६८ अर्ब अमेरिकी डलर) पुर्‍याउने र सेमीकन्डक्टर र एआईमा केन्द्रित सहकार्य पहल गर्ने बताए ।

जापानको ‘सेल्फ डिफेन्स फोर्सेज’ र भारतीय सशस्त्र बलबीच सैन्य अभ्यास विस्तार गर्न दुवै पक्ष सहमत भएको क्योदो समाचार एजेन्सीले जनाएको छ । पूर्वी चीन सागर र दक्षिण चीन सागरको अवस्थाप्रति दुवै देशले ‘गम्भीर चिन्ता’ व्यक्त गरेको क्योदोले जनाएको छ ।
 
जापानी प्रधानमन्त्री इशिबाले पत्रकारहरूसँग भने, ‘अन्तर्राष्ट्रिय परिस्थिति झन्झन् अनिश्चित हुँदै जाँदा जापान र भारतले यस क्षेत्रको शान्ति र स्थिरताका लागि हातेमालो गर्नैपर्छ।’ प्रधानमन्त्री मोदीले भने, ‘भारत र जापान स्वतन्त्र, खुला, शान्तिपूर्ण, समृद्ध र नियममा आधारित इन्डो–प्यासिफिकका लागि पूर्ण प्रतिबद्ध छन् ।’ 
 
यसअघि मोदीले टोकियोमा आयोजित एक व्यापारिक मञ्चमा भारत र जापानले ‘एसियाली शताब्दीलाई आकार दिने’ र भारत ‘ग्लोबल साउथमा जापानी व्यवसायका लागि स्प्रिङबोर्ड’ भएको बताएका थिए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा धेरै भारतीय आयातमा ५० प्रतिशत कर लगाएपछि दुवै देश प्रभावित भएका छन्।

जापानको महत्वपूर्ण अटो क्षेत्रले अझै पनि २५ प्रतिशत करको सामना गरिरहेको छ । यद्यपि, जुलाईको व्यापार सम्झौताले उनीहरूलाई लगाउने भनी तयारी गरिएको करमा कटौती गरेको छ । घोषित अतिरिक्त करहरू अझै पनि लागू भएको छैनन्।

यसैबीच, प्रधानमन्त्री मोदी र इशिबाले शनिबार चिप कारखानाको भ्रमण गर्ने भएका छन् ।

सन् २०४७ मा भारतीय स्वतन्त्रताको शतवार्षिकीसम्म जापानले सात हजार किलोमिटर (चार हजार ३५० माइल) उच्च गतिको रेल सञ्जालमा सहयोग पुर्‍याउने उद्देश्यले उनीहरूले ‘शिन्कानसेन’ बुलेट ट्रेन बनाउने कारखानाको पनि भ्रमण गर्नेछन्।

पश्चिमी भारतीय शहरहरू मुम्बई र अहमदाबादबीच पहिलो उच्च गतिको लिङ्क निर्माण गर्ने उद्देश्यले एक संयुक्त परियोजना वर्षौंदेखि ढिलाइ भएको छ र लागत वृद्धिको कारण ग्रस्त बनेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको साङ्घाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुने कार्यक्रम तय भएको छ । 

सन् २०१८ पछि मोदीको यो पहिलो चीन भ्रमण हुनेछ । सबैभन्दा बढी जनसंख्या भएका यी दुई देशदक्षिण एसियामा प्रभाव जमाउने तीव्र प्रतिद्वन्द्वी हुन् र सन् २०२० मा उनीहरूबीच सीमा विवादका कारण कुटनीतिक सम्बन्धमा तनाव सिर्जना भएको थियो । एजेन्सी 

सम्बन्धित खबर