२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

वडाध्यक्ष पौडेल पढाउँछन् निःशुल्क ट्युसन

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ साउन ३ गते १८:५१
वडाध्यक्ष पौडेल पढाउँछन् निःशुल्क ट्युसन

अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडाध्यक्षको दैनिकी भिन्न किसिमको छ । दिनभर सेवाग्राहीका काम गर्न वडामा व्यस्त हुने वडा अध्यक्ष कृष्णप्रसाद पौडेल बिहानको समयमा विद्यार्थीहरुसँग रमाउने गर्छन् ।

वडामा रहेको एक विद्यालयमा एसईईको नतिजा सोचेअनुसारको नआएपछि वडाध्यक्ष पौडेलले गणित विषयको ट्युसन पढाउँदै आएका छन् । उनी भन्छन्, 'वडामा निर्वाचित भएर आएसँगै विगतका दुई वर्ष पनि धातिवाङ्ग माविका विद्यार्थीहरुलाई निःशुल्क ट्युसन पढाएको थिएँ, यस वर्ष पनि विद्यार्थीहरुलाई ग्रेड वृद्धि गराउन टेवा पुग्ला भनेर ट्युसन पढाएको छु ।' वडाध्यक्षको घरमा गणित विषयको ग्रेडवृद्धि परीक्षामा सहभागी हुन लागेका ६ जना विद्यार्थी बिहान ६ बजे नै ट्युसन पढ्न आउँछन् । 

'१० वर्ष अगाडि कक्षा ११-१२ मा कृष्ण माविमा अध्ययन गर्दादेखि नै मेरो घरभरि ट्युसन पढ्न आउने विद्यार्थीहरुको ताँती हुन्थ्यो, पहिला विद्यार्थीहरु धेरै हुन्थे, उनीहरु अहिले देशको सरकारी क्षेत्रदेखि विदेशसम्म पुगेका छन्, मैले जानेको क्षमता विद्यार्थीहरुलाई सिकाउँदा टेवा पुग्ने भएकाले समय व्यवस्थापन गरेर ट्युसन पढाएको छु,' उनले भने ।

वडाध्यक्ष पौडेल अगाडि भन्छन्, ‘भौतिक क्षेत्रको मात्र विकास होइन, सामाजिक क्षेत्रको विकास पनि गर्नुपर्छ, मैले ट्युसन पढाउँदा शुल्क लिँदिनँ, सामाजिक काम गर्न जनताले ५ वर्षका लागि जिम्मेवारी दिएका हुन्, तिनै जनताका छोराछोरीलाई पढाउन पाउँदा मन हर्षित हुन्छ। हाम्रो वडामा १ मावि र ४ आधारभूत विद्यालय गरी ५ वटा विद्यालयहरु छन्, शिक्षा क्षेत्रका लागि पूर्वाधार विकासदेखि अतिविपन्न, जेहेन्दार विद्यार्थीहरु लक्षित कार्यक्रम पनि गर्दै आएका छौं, सकारात्मक सोचसहित शिक्षा सुधार्न वडाबाट गर्ने काममा कुनै कसुर बाँकी राखेको छैन,' पौडेलले भने । विद्यार्थी राजनीतिबाटै उदाएका पौडेल वडाध्यक्षमा निर्वाचित ३० वर्षीय युवा हुन्, उनी स्नाकोत्तर तहमा गणित विषयमा उत्तीर्ण वडा अध्यक्ष हुन् । 

निर्वाचत भएको शुरुको वर्ष नै शिक्षकहरुका लागि कम्प्युटर शिक्षा तालिम सञ्चालन गरेसँगै धातिवाङ्गका ५ वटै विद्यालय प्रविधिमैत्रीरुपमा अगाडि बढेका छन् । बालबालिकाहरुको क्षमता विकास र बालबालिका शिक्षित भएमा गाउँको विकास हुने भएकाले पनि शिक्षा विकासको मेरुदण्ड रहेको उनको बुझाइ छ । नि:शुल्क ट्युसन पढाउने काम राम्रो भएको भन्दै पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमसहित शिक्षाविद्हरुले वडाध्यक्षको प्रशंसा गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise