२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा सुधार’

Nada
२०८२ जेठ २६ गते २२:००
Shares
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा सुधार’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । सोमबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनलाई रोजगारदाताको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराएका हुन् । 

ncell

यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे । औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोचसहित काम गरेकोमा अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) ले नेपाल, जिम्बाव्वे, कोट डे भाँ, युरुग्वे र नामिबियाको प्रशंसा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासंघ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको समेत अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तरराष्ट्रिय सहभागिताका लागि आग्रह गरे । महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराए । 

उनले भने, ‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको छ, तर पनि भारत चीनलगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।’ उनले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसर रहेको बताए ।

हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नभए पनि नेपालका हिमाल पग्लिँदै गएको तथा हिमाल संरक्षणमा नेपालले निर्वाह गरेको भूमिकाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराए । उनले पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिए ।  

सम्मेलनमा विश्वका १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधि सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रुपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए ।

ताजा खबर

सम्बन्धित खबर